

काठमाडौँ – भारतमा हालै निपाह भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा पनि यसको सम्भावित जोखिम बढेको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले चेतावनी दिएका छन्। भारतमा देखिएको संक्रमणमा स्वास्थ्यकर्मीसमेत परेकाले यो भाइरस अत्यन्तै सजिलै मानिसबाट मानिसमा सर्न सक्ने खतरनाक चरणमा रहेको उनको भनाइ छ।
डा. पुनका अनुसार भारतमा पुष्टि भएका संक्रमितमध्ये केहीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। “चिन्ताको विषय के हो भने संक्रमितमध्ये नर्स र चिकित्सकसमेत छन्, जसले मानिसबाट मानिसमा संक्रमण फैलिएको स्पष्ट संकेत गर्छ,” उनले भने।
उनका अनुसार निपाह भाइरस पारामिक्सोभिरिडी परिवार अन्तर्गत पर्ने हेनिपाभाइरस समूहको अत्यन्तै घातक भाइरस हो। यो भाइरस पहिलोपटक सन् १९९९ मा मलेसियामा सुँगुर पालक कृषकहरूमा देखिएको थियो, जहाँ संक्रमितमध्ये करिब ४० प्रतिशतको मृत्यु भएको थियो। त्यसपछि भारत र बंगलादेशमा सन् २००१ तिर यो भाइरस देखा परेको र त्यसयता ती देशहरूमा प्रायः हरेक वर्ष संक्रमण देखिँदै आएको तथ्यांक छ। “भारत र बंगलादेशमा मृत्युदर औसतमा ७० देखि १०० प्रतिशतसम्म पुगेको छ,” डा. पुनले बताए।
निपाह भाइरस मुख्यतः संक्रमित सुँगुरसँग नजिकको सम्पर्कमा आउने व्यक्तिमा सर्ने भए पनि भारत र बंगलादेशका अधिकांश आउटब्रेकमा सुँगुरबाट संक्रमण सरेको ठोस प्रमाण भने भेटिएको छैन। बरु, चमेरोको र्याल वा शरीरबाट निस्कने तरल पदार्थले जुठो बनाएको फलफूल सेवन गर्दा मानिस संक्रमित भएको विभिन्न अध्ययनहरूले देखाएका छन्।
नेपालमा निपाह भाइरसको प्राकृतिक रिजर्भोयर मानिने प्रजातिका चमेरो प्रशस्त पाइने भए पनि हालसम्म मानिसमा संक्रमण पुष्टि भएको छैन। “सम्भवतः मानिस र चमेरोबीच प्रत्यक्ष सम्पर्क कम हुनु यसको कारण हुन सक्छ,” डा. पुनले भने। यद्यपि फिलिपिन्समा भने संक्रमित घोडाबाट मानिसमा निपाह भाइरस सरेको उदाहरणसमेत भेटिएको उनले स्मरण गराए।
डा. पुनका अनुसार निपाह भाइरस मानिसबाट मानिसमा सर्नु सबैभन्दा गम्भीर र चिन्ताजनक पक्ष हो। भारत र बंगलादेशमा भएका धेरैजसो आउटब्रेकहरूमा संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थको सम्पर्कबाट संक्रमण फैलिएको देखिएको छ। सन् २००१ मा भारतको सिलिगुडीस्थित एक अस्पतालमा भएको आउटब्रेकमा स्वास्थ्यकर्मी र अस्पताल आएका व्यक्तिसमेत गरी करिब ७५ प्रतिशतसम्म मानिस संक्रमित भएका थिए।
हाल भारतमा देखिएको निपाह भाइरसको स्रोत कुन जनावरबाट सुरु भयो भन्ने विषय यकिन भइसकेको छैन। तर प्रारम्भिक संकेतहरू मानिसबाट मानिसमा संक्रमण फैलिरहेकोतर्फ देखिएको डा. पुनको भनाइ छ।
निपाह भाइरस संक्रमण भएको ४ देखि १४ दिनभित्र लक्षण देखिन थाल्ने उनले बताए। सुरुमा ज्वरो, शरीर दुख्ने, घाँटी दुख्ने र बान्ता हुनेजस्ता सामान्य लक्षण देखिए पनि पछि इन्सेफ्लाइटिस अर्थात् मस्तिष्कको सूजन हुन सक्छ। “गम्भीर अवस्थामा बिरामी २४ देखि ४८ घण्टाभित्र कोमामा जान सक्छ,” डा. पुनले चेतावनी दिए। यसका साथै निमोनिया र अन्य श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिन सक्छन्। उपचारपछि निको भएका करिब २० प्रतिशत बिरामीमा दीर्घकालीन स्नायु सम्बन्धी समस्या देखिन सक्ने उनले बताए।
हालसम्म निपाह भाइरसविरुद्ध विशेष एन्टिभाइरल औषधि वा खोप विकास भइनसकेको डा. पुनको भनाइ छ। यसको लक्षण फ्लू वा अन्य संक्रमणसँग मिल्दोजुल्दो हुने भएकाले प्रयोगशाला परीक्षणबाट मात्र पुष्टि गर्न सकिन्छ। रगत, पिसाब, ढाडको पानी वा नाक–घाँटीको स्वाब नमुनाबाट पीसीआर वा एलाइजा परीक्षण विधिबाट भाइरस पहिचान गरिन्छ।
भारतमा निपाह भाइरस देखिएपछि नेपालले पनि परीक्षणको तयारी थालेको जानकारी आएको भन्दै डा. पुनले विशेषगरी पश्चिम बंगाललगायत भारतबाट हालै फर्किएका र लक्षण देखिएका व्यक्तिले अनिवार्य रूपमा परीक्षण गराउनुपर्नेमा जोड दिए। “यसले सम्भावित आउटब्रेकलाई समयमै रोक्न मद्दत गर्छ,” उनले भने।
डा. पुनका अनुसार हाल भारतमा स्वास्थ्यकर्मीबीच निपाह भाइरस फैलिएको देखिनु नेपालका लागि गम्भीर चेतावनी हो। नेपालका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा बिरामीको उपचारका क्रममा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को प्रयोग पर्याप्त रूपमा नहुने गरेको उल्लेख गर्दै उनले यदि भाइरस फैलियो भने स्वास्थ्यकर्मीहरू उच्च जोखिममा पर्ने बताए।
नेपालमा निपाह भाइरसको प्राकृतिक रिजर्भोयर मानिने चमेरोको उपस्थिति, सुँगुर पालनको लोकप्रियता, नेपाल–भारत खुला सीमाका कारण संक्रमित व्यक्तिको सहज आवतजावत तथा अस्पतालहरूमा उच्च घातक संक्रामक रोगमैत्री संरचनाको अभावले नेपालमा पनि निपाह भाइरसको सम्भावित आउटब्रेकको जोखिमलाई नकार्न नसकिने डा. पुनको निष्कर्ष छ।



