काठमाडौँ- स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन् ।
तनहुँका काफ्ले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको कार्यकालमा स्वास्थ्य बीमा बोर्डको निर्देशकमा नियुक्त भएका थिए । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानीको दायित्व अत्यधिक बढ्दै बोर्ड गम्भीर दबाबमा परेका बेला काफ्लेको राजीनामा आएको हो ।
हाल ठूला सरकारी अस्पतालहरूले सूचना सार्वजनिक गर्दै स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् । केही अस्पताल भने सेवा बन्द गर्ने तयारीमा रहेको बताइएको छ ।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ । तर अर्थ मन्त्रालयले यही मोडलमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिए थप अनुदान दिन नसकिने स्पष्ट पारिसकेको छ ।
सरकारबाट आवश्यक सहयोग नपाउँदा स्वास्थ्य बीमा कार्यक्रम नै गम्भीर संकटमा परेको सरोकारवालाहरूको भनाइ छ । बोर्डको नेतृत्वमै राजीनामा आएपछि बीमा कार्यक्रमको भविष्यबारे थप अनिश्चितता बढेको छ ।







