काठमाडौं- नेपाल चिकित्सक संघको पूर्वनिर्धारित निर्वाचन कार्यक्रम स्थगित गरिएको छ। संघले आइतबार एक सूचना जारी गर्दै पाटन उच्च अदालतबाट जारी अन्तरिम आदेशलाई ध्यानमा राखी निर्वाचन हाललाई स्थगित गर्ने निर्णय गरिएको जनाएको हो।
सूचनाअनुसार अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने बाध्यताका कारण यसअघि तय गरिएको निर्वाचन तालिका लागू नहुने भएको हो। निर्वाचन प्रक्रिया स्थगित भए पनि आगामी कार्यतालिका भने निर्वाचन समितिमार्फत अर्को सूचना जारी गरी सार्वजनिक गरिने संघले स्पष्ट पारेको छ।
यसअघि संघको निर्वाचन पहिलो चरणमा उपत्यका बाहिर माघ २ र ३ गते तथा दोस्रो चरणमा उपत्यका भित्र माघ १५, १६ र १७ गते हुने तालिका तय गरिएको थियो। नयाँ निर्वाचन मिति र कार्यक्रम अदालतको आदेशअनुसार पुनः निर्धारण गरिने जनाइएको छ।
Last Modified Date: २०८२ माघ २, शुक्रबार







