
काठमाडौं- भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको महामारी फैलिएको खबरसँगै नेपालका स्वास्थ्य निकायहरू सतर्क भएका छन्। महामारी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार सबै सम्बन्धित निकायलाई रोकथामका उपाय अपनाउन निर्देशन दिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरसको मृत्युदर ४०–७५ प्रतिशत छ। पश्चिम बंगालमा गत सोमबार दुई शंकास्पद घटना भेटिएको थियो, जहाँ संक्रमित बिरामीहरू गम्भीर अवस्थामा छन्। डाक्टरहरूले यस भाइरसलाई कोरोना भाइरस जस्तै जुनोकिटबाट फैलिने भए पनि यो धेरै प्राणघातक भएको बताएका छन्। प्रायः संक्रमित जनावरबाट मानिसमा फैलिन्छ, तर केही घटनामा मानिस–मानिस पनि संक्रमण देखिएको छ।
नेपालमा पनि चमेरो पाइने भएकाले निपाह भाइरसको सम्भावित जोखिम रहेको चिकित्सकहरूले चेतावनी दिएका छन्। विशेषगरी पश्चिम बंगाल–नेपाल सीमा नाका हुँदै दैनिक सयौं मानिस ओहोर–दोहोर गर्ने भएकाले संक्रमण फैलने जोखिम बढ्ने बताइएको छ।
निपाह भाइरसको पहिचान पहिलोपटक १९९९ मा मलेसिया र सिंगापुरमा भएको थियो। सन् २०१८ मा भारतको केरालामा १७ जनाको मृत्यु यस भाइरसबाट भएको थियो। अहिलेसम्म यसको निश्चित उपचार छैन, र स्वास्थ्यकर्मीहरूले लक्षण अनुसार उपचार गर्दै आएका छन्। भाइरसको लक्षणमा ज्वरो, टाउको दुखाइ, श्वासप्रश्वास समस्या र स्नायुसम्बन्धी समस्याहरू देखा पर्न सक्छ।


