काठमाडौं- नेपालको चिकित्सा शिक्षालाई धरासायी बनाउने गम्भीर कसरत भइरहेको भन्दै निजी मेडिकल कलेजहरूले कडा आपत्ति जनाएका छन्। राष्ट्रिय चिकित्सा ऐन २०७५ ले निजी मेडिकल कलेजलाई गैरनाफामूलक (एनजिओ) बनाउने प्रस्ताव गरेर समग्र चिकित्सा शिक्षा प्रणाली नै कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाइएको छ।
नेपाल मेडिकल कलेजको २६औँ वार्षिक साधारण सभामा बोल्दै कलेजका अध्यक्ष प्राध्यापक डा. जैनुद्धिन अन्सारीले निजी मेडिकल कलेजलाई एनजिओकरण गरेर निजी लगानी समाप्त पार्ने खेल भइरहेको दाबी गर्दै सबै मेडिकल कलेज एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार राष्ट्रिय चिकित्सा ऐनको दफा ४७ को उपदफा (१) मा ऐन लागू भएको मितिले १० वर्षपछि नेपालभित्र सञ्चालित सबै चिकित्सासम्बन्धी शिक्षण संस्था क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थाको रूपमा रहने व्यवस्था गरिएको छ। अरबौँ रुपैयाँ निजी लगानीमा स्थापना भएका मेडिकल कलेजहरूको भविष्य के हुने भन्ने विषय गम्भीर चिन्ताको विषय बनेको उनले बताए।
‘यो ऐन कार्यान्वयन भए सबै निजी मेडिकल कलेज या त बन्द गर्नुपर्ने अवस्था आउँछ, या सरकारलाई बुझाउनुपर्ने हुन्छ। यो ऐन चिकित्सा शिक्षा सुधार्नभन्दा पनि बिगार्न ल्याइएको देखिन्छ। निजी क्षेत्र समाप्त पार्ने उद्देश्यका साथ आएको छ,’ प्रा.डा. अन्सारीले स्पष्ट रूपमा भने।
अस्थिर राजनीतिक अवस्थाका कारण मुलुकको समग्र विकास प्रभावित भइरहेको र त्यसको प्रत्यक्ष असर चिकित्सा शिक्षामा परेको उनको भनाइ छ। विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको नेपालको चिकित्सा शिक्षालाई केही सीमित व्यक्तिहरूले सिध्याउन खोजिरहेको आरोप समेत उनले लगाए।
स्वास्थ्य क्षेत्रमा राज्यले फड्को मार्न निजी क्षेत्रको ठूलो योगदान रहेको उल्लेख गर्दै अध्यक्ष अन्सारीले निजी क्षेत्रले पुर्याएको योगदानलाई राज्यले नजरअन्दाज गरेको गुनासो गरे। ‘स्वदेशमै बसेर लगानी गर्यौं, राज्यलाई करोडौँ राजस्व बुझायौं, सर्वसुलभ शुल्कमा जनतालाई स्वास्थ्य सेवा दियौं, राज्यले तोकेकोभन्दा कम शुल्कमा दक्ष जनशक्ति उत्पादन गर्यौं, रोजगारी सिर्जना गर्यौं। तर पनि हामी मेडिकल माफिया कहलाइरहेका छौं। योभन्दा ठूलो विडम्बना के हुन सक्छ?’ उनले प्रश्न गरे।
साधारण सभामा कलेजको गत आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष अन्सारीले शिक्षा र स्वास्थ्य सेवालाई अझ प्रभावकारी तथा गुणस्तरीय बनाउन कलेज निरन्तर प्रयासरत रहेको बताए। निर्धारित लक्ष्यहरू अधिकांश पूरा भइसकेको उनको भनाइ छ।
२०५६ सालमा ‘नेपालीहरुद्वारा नेपालीका लागि’ भन्ने नारासहित स्थापना भएको नेपाल मेडिकल कलेजमा हाल १६ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। हालसम्म कलेजले २ हजार ३ सय २९ जना चिकित्सक उत्पादन गरिसकेको र उत्तीर्ण प्रतिशत ९८ देखि १०० प्रतिशतसम्म रहेको दाबी अध्यक्ष अन्सारीले गरे।

गत वर्षदेखि शैक्षिक कार्यक्रम, स्वास्थ्य सेवा र पूर्वाधार विस्तारमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै उनले एमबीबीएस सिट १०० बाट १३०, बीएससी नर्सिङ ४० बाट ५० र डीएमएमसीएच कार्यक्रम ५ बाट ७ पुगेको जानकारी दिए। ‘यो कलेजको भौतिक संरचना र गुणस्तरको प्रतिफल हो,’ उनले भने।
कलेजले सन् २०२५ मा एमसीएच न्यूरोसर्जरी तथा डीएम नियोनाटोलोजी कार्यक्रम सुरु गरिसकेको छ भने अनुसन्धान र अध्ययनका लागि क्षमता अभिवृद्धि गरिएको छ। सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै अध्यक्ष अन्सारीले कलेजमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक स्वास्थ्य सुरक्षा कोष, कर्मचारी सञ्चय कोषलगायतका बीमा कार्यक्रम सञ्चालनमा रहेको बताए। साथै, विपन्न तथा असहाय नागरिकका लागि १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराइएको र निःशुल्क डायलाइसिस सेवा पनि सञ्चालनमा रहेको जानकारी दिए।
गत वर्ष गरिएका प्रतिबद्धताहरू पूरा भइसकेको जनाउँदै अध्यक्ष अन्सारीले दन्त रोग विभागको अत्याधुनिक नयाँ भवन, १२८ स्लाइस सिटी स्क्यान, १.५ टेस्ला एमआरआई, नवजात शिशुको श्रवण परीक्षण उपकरण ओएई, क्याथ ल्याब, एडभान्स इको कार्डियोग्राफी तथा १० बेडको कोरोनरी केयर युनिट सञ्चालनमा आएको बताए।
आगामी दिनमा अस्पताल सेवालाई अझ सुदृढ बनाउन पोर्टेबल अल्ट्रासाउण्ड, पीटीओ, लेजर, ओसिटी एक्सरे, डिजिटल एक्सरे तथा रेडियो स्पेसिफिक उपकरण खरिद गर्ने योजना रहेको छ।
विशेषज्ञ सेवा विस्तारअन्तर्गत यूरोलोजी, न्यूरोलोजी, नेफ्रोलोजी, बर्न तथा प्लास्टिक सर्जरी, पेडियाट्रिक सर्जरी, इन्डोक्राइनोलोजी सेवाको ओपिडी विस्तार गर्ने तथा क्यान्सर उपचारका लागि किमोथेरापी र रेडियोथेरापीसहितको अन्कोलोजी केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको छ।
शिक्षातर्फ बीडीएसमा ६० सिट माग गर्ने, पीजी कार्यक्रम विस्तार गर्ने, एमसीएच र डीएम कार्यक्रम अन्य विभागमा विस्तार गर्ने, बीएससी नर्सिङ सिट ६० पुर्याउने, ब्याचलर इन फिजियोथेरापी सञ्चालन गर्ने, एमबीबीएस सिट १५० पुर्याउने वा दुई सिफ्ट सञ्चालन गर्ने, सीटीईभीटी अन्तर्गत पीसीएल नर्सिङ तथा जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्ने योजना साधारण सभामा प्रस्तुत गरिएको छ।
साधारण सभाले अघिल्लो वर्षको प्रगति विवरण, समीक्षा तथा आगामी आर्थिक वर्षका कार्यक्रम र योजनाहरू सर्वसम्मत रूपमा पारित गरेको छ। कार्यक्रममा कलेजका पूर्व अध्यक्ष डा. भोला रिजाल, प्रबन्ध निर्देशक डा. सबिहा यासमिन, सञ्चालक समिति सदस्यहरू डा. आनन्दप्रसाद श्रेष्ठ, शाहनवाज अन्सारी र वैकल्पिक सदस्य डा. नुसरत जहाँ अन्सारीले समेत मन्तव्य व्यक्त गरेका थिए।








