काठमाडौं । काठमाडौंको बुढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचारका क्रममा जुम्ल्याहा शिशुको मृत्यु भएको घटनासम्बन्धी क्षतिपूर्तिको मुद्दा काठमाडौँ जिल्ला अदालतले उपभोक्ता अदालतमा पठाउने आदेश दिएको छ।
अस्पताल र चिकित्सकको लापरबाहीका कारण आफ्ना दुई नवजात शिशुको मृत्यु भएको भन्दै पीडित आमा विद्या राणाले डा। प्रयास श्रेष्ठ कक्षपतीसहितलाई विपक्षी बनाएर जिल्ला अदालतमा दुष्कृतिबापत क्षतिपूर्तिको मुद्दा दायर गरेकी थिइन्।

उक्त मुद्दामाथि सुनुवाइ गर्दै न्यायाधीश कृतबहादुर बोहराको इजलासले बाँकी कारबाही र किनारा गर्न उपभोक्ता अदालत, त्रिपुरेश्वरमा पठाउने आदेश दिएको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २ को खण्ड ९द० ले चिकित्सकीय सेवालाई समेत उपभोक्ता संरक्षण ऐनको दायरामा समेटेकाले मुद्दा उपभोक्ता अदालतमा पठाउनुपर्ने आदेशमा उल्लेख छ। जिल्ला अदालतको दायरीबाट लगत कट्टा गरी सम्पूर्ण मिसिल उपभोक्ता अदालतमा पठाउनसमेत आदेश दिइएको छ।
चितवनकी २४ वर्षीया विद्या राणाले २०८१ असार २४ गते राति करुणा अस्पतालमा एक मिनेटको अन्तरमा जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन्। सामान्य अवस्थामा जन्मिएका भनिएका दुवै शिशुलाई जन्मनासाथ अस्पतालले नवजात शिशु सघन उपचार कक्ष ९एनआईसीयू० मा राखेको थियो।
पीडित परिवारका अनुसार सुरुमा दुवै शिशुको अवस्था सामान्य रहेको बताइए पनि आमालाई स्तनपान गराउन दिइएको थिएन। असार २७ गते डिस्चार्ज गर्ने भनिएका शिशुमध्ये पहिलो शिशुलाई सोही राति स्लिप एप्नियाको समस्या देखिएको भन्दै एन्टिबायोटिक दिन थालिएको थियो। हातखुट्टामा नसा नभेटिएपछि नाइटोबाट सानो शल्यक्रिया गरी औषधि दिइएको परिवारको भनाइ छ।

नाइटोको शल्यक्रियापछि पहिलो शिशुको अवस्था गम्भीर बन्दै गएपछि परिवारले असार २९ गते त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुर्याएको थियो। त्यहाँका चिकित्सकले पहिलो शिशुको नाइटोबाट अत्यधिक आन्तरिक रक्तस्राव भएको बताएका थिए। उपचारकै क्रममा असार ३१ गते उनको मृत्यु भयो।
यता करुणा अस्पतालमै राखिएको दोस्रो शिशुको पनि असार ३० गते बिहान आन्तरिक रक्तस्रावकै कारण मृत्यु भएको परिवारले जनाएको छ।
एक साताभित्रै दुवै सन्तान गुमाएपछि विद्या र उनका श्रीमान् प्रदीप भट्ट अस्पताल तथा चिकित्सकको लापरबाहीविरुद्ध न्यायको खोजीमा लागेका छन्। घटनापछि उनीहरूले नेपाल मेडिकल काउन्सिल, प्रहरी वृत्त महाराजगन्ज, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयलगायत निकायमा उजुरी दिएका थिए।
पीडित परिवारले अस्पतालले रकम असुल्ने उद्देश्यले अनावश्यक रूपमा शिशुलाई एनआईसीयूमा राखेको र उपचारका क्रममा गम्भीर प्राविधिक लापरबाही गरेको आरोप लगाउँदै आएको छ। यही घटनासँग सम्बन्धित क्षतिपूर्तिको मुद्दा अब उपभोक्ता अदालतमा अघि बढ्ने भएको छ।







