काठमाडौँ - नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी भएका छन्। डा. शेर्पा वीर अस्पतालमा मुटुरोग विशेषज्ञका रूपमा कार्यरत छन् र यसअघि काउन्सिलका सदस्यसमेत रहेका थिए।
हालै सम्पन्न मतगणनामा डा. शेर्पाले ५२३४ मत प्राप्त गर्दै उपाध्यक्षको पदमा जित हासिल गरेका छन्। उनका नजिकका प्रतिस्पर्धी डा. गुरुशरण शाहले ४३५० मत पाए भने अर्का उम्मेदवार डा. अजयसिंह थापाले १८४४ मत प्राप्त गरे।
सदस्य पदमा सबैभन्दा बढी मत डा. छविलाल पन्थीले ४८५७ मत पाए। डा. सारिका गोइत ४४७९, डा. दिपेन्द्र पाण्डे ४०१५, डा. योविन कुमार यादव ३६४८, डा. अस्मिता पोखरेल ३४०४, डा. सम्राट पराजुली ३२८२, डा. रबिन बस्नेत ३०७२ र निना राई ३१११ मतसहित निर्वाचित भएका छन्।
निर्वाचनमा काठमाडौँ उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९२२ मत खसेको थियो। उपत्यकामा ५ हजार ७६ र उपत्यका बाहिर ६ हजार ८४६ मत खसेको थियो। उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौँ बाहिर ४ र ५ पुसमा र उपत्यकामा ११ र १२ पुसमा मतदान भएको थियो। निर्वाचित उपाध्यक्ष र सदस्यहरूको पदावधि चार वर्षको रहने व्यवस्था छ।







