काठमाडौँ – चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु भएको घटनापछि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले औपचारिक रूपमा माफी मागेको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै चिकित्सकको कमजोरीबाट शिशुको परिवारमा पर्न गएको पीडाप्रति क्षमायाचना गरेका हुन्।
घटनाअनुसार पेट दुखाइ भएपछि गत मंसिर २५ गते एक गर्भवती महिलालाई भेरी अस्पतालको लेबर कक्षामा भर्ना गरिएको थियो। पाठेघरको पानीको फोका फुटेको अवस्थामा अस्पताल भर्ना भएकी ती महिलाको मंसिर २८ गते गर्भ खसेको थियो। २३ हप्तामै जन्मिएका शिशुको तौल मात्र ६१७ ग्राम रहेको र मुटुको चाल अत्यन्तै कमजोर अवस्थामा रहेको अस्पतालले जनाएको छ।
चिकित्सकहरूले शिशुमा मुटुको चाल र श्वासप्रश्वास नदेखिएको भन्दै भोलिपल्ट मृत घोषणा गरी परिवारलाई बुझाएका थिए। तर, करिब चार घण्टापछि शिशु जीवित रहेको संकेत देखिएपछि परिवारले पुनः अस्पताल ल्याएर भर्ना गराएका थिए। यद्यपि, केही समयमै शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार शिशुमा जीवित रहेको संकेत अत्यन्तै ढिलो देखिएको थियो। विज्ञप्तिमा अस्पतालले आफ्नो क्षमताअनुसार उपचारका लागि अधिकतम प्रयास गरेको दाबी गर्दै सम्भावित जोखिम र परिणामबारे बिरामीका आफन्तसँग पर्याप्त सञ्चार र परामर्श गर्न नसकिएको कमजोरी स्वीकार गरेको छ। साथै, आगामी दिनमा यस्ता कमजोरी नदोहोर्याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।







