
मुटु तथा मुटुबाट शरीरका विभिन्न अंगमा रगत आपूर्ति गर्ने नली (धमनी–शिरा) र झिल्लीहरूमा लाग्ने रोगलाई समग्र रूपमा हृदय रोग भनिन्छ। हृदय रोग हाल संसारमै मृत्युको सबैभन्दा ठूलो कारणका रूपमा स्थापित भइसकेको छ। यही कारणले यसलाई चिकित्सकहरूले ‘नम्बर वान किलर’ समेत भन्ने गरेका छन्।
सन् २०२२ को अन्तर्राष्ट्रिय सर्वेक्षण अनुसार विश्वभर करिब १९.८ मिलियन मानिसको मृत्यु हृदय रोगका कारण भएको तथ्यांक छ। अझ चिन्ताजनक कुरा के छ भने करिब १० प्रतिशत बिरामी अस्पताल पुग्नुअघि नै मृत्युवरण गर्छन्। बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, अत्यधिक तनाव र शारीरिक निष्क्रियता हृदय रोग बढ्नुका प्रमुख कारण हुन्।
हृदय रोग लाग्ने मुख्य कारण
-अत्यधिक चिल्लो, नुनिलो र प्रशोधित खानपान
-शारीरिक व्यायाम नगर्ने बानी
-धुम्रपान, सुर्तीजन्य पदार्थ तथा मद्यपान
-अत्यधिक मानसिक तनाव र पर्याप्त निद्राको अभाव
-मोटोपना, उच्च रक्तचाप, मधुमेह
-वंशाणुगत (जेनेटिक) कारण: परिवारमा मुटुरोगको इतिहास भएमा सावधानी झनै आवश्यक हुन्छ।
हृदय रोगका प्रमुख प्रकार
-जन्मजात हृदय रोग
जन्मँदै मुटुको बनावटमा समस्या भएर देखिने रोग।
-हृदयघात (हार्ट अट्याक)
मुटुमा रगत आपूर्ति गर्ने नली अवरुद्ध (ब्लक) हुँदा हुने अवस्था।
-इलेक्ट्रिकल डिस्टरबेन्स
मुटुको धड्कन असामान्य हुनु (धेरै ढिलो वा धेरै छिटो धड्किनु)।
-संक्रमण वा सूजनजन्य रोग
मुटुको झिल्ली वा मांसपेशीमा संक्रमण वा सुन्निनु।
-भल्भसम्बन्धी समस्या
मुटुको भल्भ साँघुरिनु वा रगत चुहिने (लिकेज) अवस्था।
-हार्ट फेलियर
मुटुले आवश्यक मात्रामा रगत पम्प गर्न नसक्ने अवस्था।
को बढी जोखिममा छन् ?
-बढ्दो उमेर
-वंशाणुगत जोखिम भएका व्यक्ति
-शारीरिक रूपमा निष्क्रिय जीवनशैली अपनाउने
-साउथ एसियन र अफ्रिकन–अमेरिकन समुदाय
-धुम्रपान र मद्यपान गर्ने
हृदय रोग पत्ता लगाउन गरिने परीक्षण
रोगका लक्षण र अवस्थाअनुसार विभिन्न परीक्षण गरिन्छः
-ईसीजी
-रगत परीक्षण
-इको कार्डियोग्राफी
-कार्डियाक स्ट्रेस टेस्ट
-कार्डियाक एमआरआई लगायत
यी परीक्षणले मुटुको संरचना, धड्कन र रगत प्रवाहको अवस्थाबारे स्पष्ट जानकारी दिन्छन्।
हृदय रोगबाट कसरी बच्ने ?
हृदय रोगबाट बच्न निम्न कुरामा ध्यान दिनु अत्यन्त जरुरी छः
-सन्तुलित र स्वस्थ खानपान अपनाउने
-मोटोपना नियन्त्रणमा राख्ने
-नियमित शारीरिक व्यायाम गर्ने
-धुम्रपान तथा मद्यपान नगर्ने
-पर्याप्त र गुणस्तरीय निद्रा लिने
-मानसिक तनाव व्यवस्थापन गर्ने
समयमै सचेत भए हृदय रोगबाट जोगिन र लामो स्वस्थ जीवन बिताउन सकिन्छ।
(ह्याम्स अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. केशव बुढाथोकीसँग गरिएको कुराकानीमा आधारित)

