
-डा. घनश्याम खरेल
चक्कर जीवनमा कुनै न कुनै बेला सबैलाई लाग्छ। वरिपरीको चीज संसार घुमेको जस्तो, हिँड्दा लड्न लाग्ने, वा टाउको फन्न झुम्म घुमेको जस्तो अनुभव भयो भने चक्कर लागेको भन्छन्। चक्करले दैनिक जीवनमा असजिलो मात्र होइन, कहिलेकाहीँ खतरनाक पनि हुन सक्छ। यसकारण यसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ।
चक्कर लाग्ने सबैभन्दा सामान्य कारण बीपीपीभी ‘बीनाइन प्याराक्जस्मल पोजिस्नल भर्टिगो’ हो। बीपीपीभीमा शरीरको स्थिति परिवर्तन हुँदा, जस्तै सुत्दा वा उठ्दा, अचानक चक्कर लाग्छ। कहिलेकाहीँ यससँग वान्ता, वाकवाकी वा उल्टी पनि हुन सक्छ। यो अवस्था केही सेकेन्डदेखि केही मिनेटसम्म मात्र रहन्छ। शरीर स्थिर हुँदा सामान्यतया चक्कर लाग्दैन। बीपीपीभीका कारण अनुभव हुने चक्कर अस्थायी भए पनि दैनिक जीवनमा असजिलो र खतरनाक हुनसक्छ। विशेषगरी वृद्ध वा स्वास्थ्य समस्या भएका मानिसहरूमा अचानक चक्करले लड्ने जोखिम बढाउँछ।

माइग्रेन भएका व्यक्तिमा पनि चक्कर देखिन्छ। यस्तो अवस्थामा टाउको दुखाइसँगै चक्कर आउने हुन सक्छ। पक्षाघात (प्यारालाइसिस) भएका व्यक्तिहरूमा पनि चक्कर लाग्ने अवस्था देखिन्छ। यसबाहेक, शरीरमा भिटामिन बी–१२ को कमी, थाइराइड समस्या, रगतको कमी, र नशा सम्बन्धी रोगले पनि चक्कर उत्पन्न गर्न सक्छ। केही अवस्थामा मस्तिष्कको ट्युमर वा केही औषधिको साइड इफेक्टले पनि चक्कर आउन सक्छ।
चक्करका लक्षणहरू प्रायः वरिपरीको चीज घुमेको जस्तो देखिनु, टाउको फन्न घुम्नु, सन्तुलन गुम्नु, वाकवाकी, वान्ता, कान बज्ने, र कहिलेकाहीँ अचानक लड्ने जोखिम पर्नु हुन्। यी लक्षण देखिएमा ढिलाइ नगरी चिकित्सकको सल्लाह लिनु अत्यन्त जरुरी छ।
चिकित्सकले चक्करको परीक्षणका लागि बिरामीसँग विस्तृत सोधपुछ गर्छन्। आवश्यक परे रक्त जाँच, ब्लड प्रेसर मापन, र एमआरआई जस्ता परीक्षणहरू गरिन्छ। यी परीक्षणको आधारमा चिकित्सकले सही कारण पत्ता लगाउँछन् र त्यस अनुसार उपचार सल्लाह दिन्छन्। परीक्षणपछि उपयुक्त औषधि, फिजियोथेरापी, वा अन्य उपचारहरू अपनाइन्छ।
उपचारका दृष्टिले, अचानक नयाँ चक्कर लागे तुरुन्तै अस्पताल जानुपर्छ। चक्करसँग वान्ता, कान बज्ने समस्या, टाउको धेरै दुख्ने वा हिंड्न गाह्रो भएमा पनि तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक छ।
चक्कर लागे के गर्ने ?
-प्रशस्त पानी र झोल खानेकुरा खानुपर्छ।
-जीवनजल पिउनुपर्छ।
-चिकित्सकले दिएको औषधि नियमित रूपमा खानुपर्छ।
-आफूखुसी औषधि नखाने।
घरमा सावधानी अपनाएर पनि चक्कर रोक्न वा कम गर्न सकिन्छ। जस्तै, उठ्दा वा सुत्दा शरीरलाई ध्यानपूर्वक मोड्नु, पर्याप्त आराम गर्नु, पोषिलो आहार खानु, तनाव कम गर्नु, र नियमित व्यायाम गर्नु लाभदायक हुन्छ। वृद्ध वा बीपीपीभी भएका मानिसले अचानक शरीरको स्थिति परिवर्तन गर्दा विशेष ध्यान दिनु पर्छ।
डा चक्कर सामान्य भए पनि कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्याको संकेत हुन सक्छ। त्यसैले स्वास्थ्य सचेतना, समयमै जाँच, र चिकित्सकको सल्लाह लिनु जरुरी छ। चक्करलाई अनदेखा नगर्नु, सही परीक्षण र उपचार गर्नु स्वास्थ्य सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण छ।
(डा. खरेल सिनियर कन्सल्टेन्ट न्यूरोलोजिष्ट हुन् ।)


