काठमाडौं– आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस मनाइँदैछ। “आजै देखि लागौँ पाठेघरको मुखको क्यान्सर निवारण गरौँ” भन्ने नारासहित मनाइने यो दिवस विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को ७८औँ महासभाले १७ नोभेम्बरलाई आधिकारिक रूपमा विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस घोषणा गरेपछि विश्वभर मनाइँदै आएको हो। नेपालमा भने यो दिवस पहिलोपटक औपचारिक रूपमा मनाइँदैछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो दिवसले पाठेघरको मुखको क्यान्सर रोकथाम, स्क्रिनिङ, उपचार र निवारणका लागि सबै सरोकारवालालाई अहिले नै आवश्यक कदम चाल्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। नेपालमा महिलाहरूमा देखा पर्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख मानिन्छ भने महिलाको क्यान्सरजन्य मृत्युमध्ये यो पहिलो कारणको रूपमा देखिएको छ।
रोकथाम गर्न सकिने क्यान्सर भएकै कारण पनि मन्त्रालयले तथ्यांक सार्वजनिक गर्दै नेपालमा दैनिक ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्ने र दैनिक ४ जनाले यो रोगका कारण ज्यान गुमाइरहेको उल्लेख गरेको छ।
यो अवस्था सुधार गर्न सरकारले सन् २०३० सम्मका लागि महत्वाकांक्षी रणनीतिक लक्ष्य तय गरेको छ—कम्तीमा ९० प्रतिशत किशोरीलाई एचपीभी खोप प्रदान गर्ने, ३० वर्ष माथिका ९० प्रतिशत महिलाको स्क्रिनिङ गर्ने र क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाको उपचार सुनिश्चित गर्ने।

गत वर्षदेखि सरकारले राष्ट्रिय खोप कार्यक्रममा एचपीभी खोप समावेश गरी पहिलो चरणमै ९४ प्रतिशत किशोरीलाई निःशुल्क रुपमा खोप प्रदान गरिसकेको छ। आगामी फागुनमा पनि कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० वर्ष उमेरका किशोरीहरूलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ।
त्यस्तै स्थानीय तहमार्फत सञ्चालन हुँदै आएका एकीकृत प्रजनन स्वास्थ्य रुग्णता शिविर तथा तालिमप्राप्त स्वास्थ्यकर्मी रहेको स्वास्थ्य संस्थामा ३० वर्ष माथिका महिलाहरूका लागि निःशुल्क स्क्रिनिङ सेवा नियमित रूपमा उपलब्ध गराइँदै आएको छ। साथै सरकारले क्यान्सरका बिरामीको उपचारमा सहुलियत पनि प्रदान गरिरहेको छ।
मन्त्रालयले जनचेतना अभिवृद्धि गर्न, किशोरीहरूलाई एचपीभी खोप लगाउन प्रोत्साहित गर्न तथा नियमित स्क्रिनिङको महत्त्व बुझाएर समयमै रोग पहिचान र उपचार गर्न सबैलाई आह्वान गरेको छ।








