काठमाडौँ- विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ। मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि दिवस मनाउन प्रारम्भ भएको हो। मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसंघले प्रोत्साहन गर्दै आएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए भने १९८० मा १० यो समस्याबाट पीडित थिए। मधुमेह मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीका कारण यो रोग बढ्दै गएको हो। स्वस्थ आहार तथा नियमित व्यायाम गर्ने, धूमपान र मद्यपानबाट टाढा रहनु यो रोगबाट बच्ने उपाय हुन्।
उक्त विश्व संस्थाले बढ्दो मधुमेहलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना र जीवनशैलीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।
रगतमा ग्लुकोजको मात्रा बढी हुँदै गएमा मधुमेह हुन्छ। शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुनु र उत्पादन भएको इन्सुलिनले पनि शरीरमा प्रभावकारी रुपमा काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिन्छ। यो अवस्थालाई नै मधुमेह भनिन्छ।
आफूलाई मधुमेह भएको छ वा छैन भनेर परीक्षण पूर्व नै जानकारी हुन सक्छ। मधुमेह भएमा मुख सुख्खा हुने, पटक पटक पिसाब आउने, बढी तिर्खा लाग्ने, भोक धेरै लाग्ने, हातगोडा झम्झमाउने जस्ता लक्षण देखा पर्छन्। यस्ता लक्षण देखापर्ने वित्तिकै परीक्षण गरेर चिकित्सकको सल्लाह लिनु पर्छ।

मधुमेहलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले शरीरका अन्य अंग जस्तैः आँखा, मुटु, मिर्गौला, तथा स्नायुमा पनि असर पुर्याउन सक्छ।
शरीरको तौल बढ्दै गएमा मधुमेहको जोखिम पनि उत्तिकै बढ्दै जाने सम्भावना रहन्छ। तर, खानपानले पनि मधुमेहको निर्धारण गर्छ। यो सरुवा रोग हाेइन तर यसलाई जेनेटिक रोगको रुपमा लिइन्छ। परिवारका कुनै सदस्यलाई मधुमेह छ भने उसको सन्तानमा पनि यो रोग देखिने सम्भावना उत्तिकै रहन्छ।
मुटु रोगी र ४० वर्ष नाघेका मानिसहरुलाई मधुमेहको समस्या देखा पर्न सक्छ। अहिले विश्वभर ४५ करोडभन्दा बढी मानिस मधुमेहबाट पीडित रहेको विश्व स्वाथ्य संगठनको तथ्यांक छ। विलासी जीवनशैली र अस्वस्थकर खाना नै मधुमेहको मुल कारण हो।
मधुमेहसँगै उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल भएका बिरामीलाई हृदयाघातको जोखिम बढी हुने भएकाले मधुमेह भएका व्यक्तिले खानपानमा सजगता अपनाउन जरुरी हुन्छ। साथै दैनिक रुपमा व्यायाम गर्नु र तनावमुक्त हुनु पनि यसबाट बच्ने उत्तम उपाय हो।








