काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले निजी अस्पतालहरूमा बढ्दै गएको ठेक्का प्रणाली (कन्ट्र्याक्ट सिस्टम) अन्त्य गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेकी छन्। बिहीबार राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघ (युनिफिन)को टोलीले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले ठेक्का प्रथा रोक्नका लागि मन्त्रालयले तत्कालै सूचना जारी गर्ने तयारी गरेको बताइन्।

मन्त्री शर्माले युनिफिनका मागहरूलाई गम्भीरतापूर्वक लिने उल्लेख गर्दै मन्त्रालयले आवश्यक नीतिगत सुधारका पहल तुरुन्त सुरु गर्ने आश्वासन दिइन्। उनका अनुसार ठेक्कामा सञ्चालन भइरहेका अस्पतालहरूलाई आफ्नै व्यवस्थापनमा ल्याउन निर्देशनात्मक सूचना तयार पारिनेछ।
युनिफिनले स्वास्थ्यकर्मीमाथिको श्रमशोषण, मनपरी शुल्क असुल्ने, सेवामा पारदर्शिताको अभाव र प्रशिक्षित जनशक्तिको कमी जस्ता समस्याबारे मन्त्री शर्माको ध्यानाकर्षण गराएको थियो।

ज्ञापनपत्रमा स्वास्थ्य क्षेत्रमा कडा नियमन, स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी, उचित तलब–सुविधा सुनिश्चितता, र निजी अस्पतालहरूको पारदर्शिता कायम गर्न माग गरिएको छ।







