रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकामा भाइरल फ्लूको संक्रमण तीव्र गतिमा फैलिएको छ । गाउँपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थीहरू सामूहिक रूपमा बिरामी परेपछि जनस्वास्थ्यमा ठूलो चुनौती उत्पन्न भएको छ ।
संक्रमण तीव्र बन्दै गएपछि उमाकुण्ड–४, प्रितीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयलाई तीन दिनका लागि बन्द गरिएको छ । विद्यालयका प्रधानाध्यापक रुद्रकुमार जेस्पुचाका अनुसार मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले जोखिम नियन्त्रणका लागि कार्तिक २६ देखि २८ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो ।
विद्यालयमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूमा ज्वरो, खोकी, टाउको दुख्ने र वान्ता हुने लक्षण देखिन थालेपछि विद्यालय प्रशासनले यस्तो कदम चालेको हो । प्रधानाध्यापक जेस्पुचाका अनुसार विद्यालय कार्तिक ३० गते आइतबारदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पुनः सञ्चालन गर्ने तयारीमा छ ।
मंगलबारसम्म विद्यालयमा अध्ययनरत ३६९ विद्यार्थीमध्ये १८५ जना विद्यार्थी बिरामी परेका छन् ।

उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारका अनुसार गाउँपालिकाभित्र भाइरल फ्लुसँगै सर्ने खालका ब्याक्टेरियाका संक्रमणहरू पनि देखिएका छन् । “हाल गाउँपालिकाका सातै वडामा १३९ महिला र १४४ पुरुष गरी २८३ जना भाइरल फ्लुका बिरामी उपचारमा छन्,” उनले बताए ।
उनका अनुसार गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा गरी ४१३ जना विद्यार्थी बिरामी परेका छन् ।
“अधिकांश बिरामीमा ज्वरो, खोकी, टाउको दुख्ने, शरीर जोर्नी दुख्ने र वान्ता हुनेजस्ता लक्षण देखिएका छन्,” सुनुवारले भने ।
उनका अनुसार केही बिरामीमा सर्ने खालको कडा ब्याक्टेरिया पनि भेटिएको छ । त्यसैले गाउँपालिकाले अभिभावक, विद्यार्थी र स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन, विद्यालय तथा सार्वजनिक स्थलमा भीडभाड कम गर्न अनुरोध गरेको छ ।








