राजविराज- गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. दिलिप साहमाथि हातपात र अस्पतालमा तोडफोड गर्ने चार जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार हातपात तथा तोडफोडको आरोपमा राजविराज नगरपालिका–४ का २४ वर्षीय उदय ठाकुर, सोही ठाउँका २४ वर्षीय विनित चौहान, विष्णुपुर गाउँपालिका–६ का ५० वर्षीय प्रमेश्वर यादव र सोही ठाउँका २५ वर्षीय रमन यादवमाथि मुद्दा चलाइएको हो।
प्रहरीले चारै जनालाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर थप अनुसन्धान जारी राखिएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

सप्तरीको रुपनी गाउँपालिका–३ हर्दिया टोलकी रेखा यादवले आइतबार जन्म दिएकी नवजात शिशुलाई स्वास्थ्य समस्या देखिएपछि अस्पतालको एनआईसियु कक्षमा राखिएको थियो। साँझ सर्ट सर्किट भएर झरेको बल्बको आगोले नवजात शिशुको टाउको र गालमा जलन भएपछि आक्रोशित आफन्तहरूले अस्पताल तोडफोड गर्नुका साथै चिकित्सकमाथि हातपात गरेका थिए।
यस घटनापछि गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सबै सेवा ठप्प भएको थियो।
सोमबार भएको सर्वपक्षीय छलफलमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले घटनामा संलग्नमाथि कारबाही र क्षतिपूर्ति भराउने प्रतिवद्धता जनाएपछि मंगलबारदेखि अस्पतालका सबै सेवा पुनः सञ्चालनमा आएको मेसु डा. साहले बताए।








