काठमाडौं – पछिल्लो एक सातामा देशभर १८२ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। सामान्यतया वर्षायाममा धेरै संक्रमण देखिने भए पनि यस वर्ष कात्तिकको अन्तिम सातासम्म आइपुग्दा पनि डेंगु संक्रमण तल नझरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएको छ।
इडिसिडीको पछिल्लो तथ्यांकअनुसार केवल २४ घण्टामा मात्र २६ नयाँ संक्रमित थपिएका छन्। यससँगै अहिले देशभर डेंगु संक्रमितको कुल संख्या ७ हजार ५१९ पुगेको छ।

प्रदेशगत विवरणअनुसार गण्डकी प्रदेश सबैभन्दा प्रभावित रहेको छ, जहाँ १ हजार ९०८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बागमती प्रदेशमा १ हजार ८९५, लुम्बिनीमा १ हजार २४७, कोशीमा ९७४, सुदूरपश्चिममा ८२१, कर्णालीमा ५१४ र मधेश प्रदेशमा १६० जनामा डेंगु देखिएको छ।
डेंगु संक्रमणका कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको इडिसिडीले जनाएको छ।








