काठमाडाैं- देशभर जलन उपचारका आधारभूत सेवा अभाव हुँदा जलनपीडितको सबैभन्दा ठूलो उपचार गन्तव्य काठमाडौँ बन्न पुगेको छ। कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा. शंकरमान राईका अनुसार प्रदेशस्तरमा आवश्यक पूर्वाधार तथा चिकित्सकको अभावले जलनपीडितले जीवनरक्षाका लागि अनिवार्य रूपमा राजधानी धाउनुपर्ने स्थिति बनेको हो।
दोस्रो विश्व जलन सप्ताहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रा.डा. राईले सरकारले सातै प्रदेशमा निःशुल्क जलन उपचारको घोषणा गरे पनि प्लास्टिक सर्जन, उपकरण र उपचार सामग्री नै नपुग्दा सेवा प्रभावकारी हुन नसकेको बताए। “प्रदेशमा सेवा विस्तार भइसकेको भए काठमाडौँ पुग्नै नसक्ने धेरैको ज्यान जोगिन्थ्यो,” उनले भने।
हाल राजधानीका त्रिवि शिक्षण अस्पताल, कीर्तिपुर, पाटन र वीर अस्पताल गरी चारवटा संस्थामै डेडिकेटेड जलन उपचार हुने अवस्था छ। यिनमा पनि बेड र विशेषज्ञ सीमित भएपछि उपचार क्षमता चुनौती बनेको प्रा.डा. राईको भनाइ छ।
राष्ट्रिय ट्रमा सेन्टरका प्रा.डा. पीयूष दाहालका अनुसार नेपालमा वार्षिक करिब ५० हजार मानिस जलनका कारण अस्पताल पुग्छन्। यस्तै, १,५०० देखि २,००० जनाको ज्यान जाने गरेको तथ्यांक छ। जलनपीडितमध्ये महिला, बालबालिका र आर्थिक रूपमा कमजोर समूह बढी प्रभावित हुनुपर्ने दाहालको अनुभव छ।
उहाँका अनुसार जलन उपचार केवल तत्कालीन जटिलतामा सीमित नहुँदै दीर्घकालीन शारीरिक–मानसिक पीडा, खर्च र सामाजिक विभेदसम्मको चुनौती बोकेको हुन्छ। जलनपछि शरीर कुरूप देखिनु, दाग नहट्नु, तङ्गिने समस्या, अंग नचल्ने अप्ठ्यारोजस्ता कुरा मात्रै होइन, कति पीडितले समाजमै बहिष्कार भोग्नुपरेको छ।

साना बालबालिकामा १० प्रतिशत र वयस्कमा १५ प्रतिशतभन्दा बढी जलन हुँदा श्वासप्रश्वास, मुटु, कलेजो र स्नायु प्रणालीमा दीर्घ समस्या देखापर्न सक्ने जोखिम उच्च हुन्छ।
दाहालका अनुसार समयमै उपचार पाउने हो भने धेरैको ज्यान बचाउन सकिन्छ, तर उपचार केन्द्र कम र विशेषज्ञ थोरै भएकाले धेरैजना ढिलो अस्पताल पुग्ने र उपचार गुमाउने गरेको छ।
विश्व स्वास्थ्य संगठनकाे तथ्यांकअनुसार विश्वमा हरेक वर्ष करिब १ लाख ८० हजार मानिस जलनका कारण ज्यान गुमाउँछन्। नेपालमा पनि समयमै पहुँच, विशेषज्ञ र संरचना विस्तार नहुँदा मृत्यु दर उच्चकै रहेको चिकित्सकहरूको भनाइ छ।








