काठमाडौँ- उपचारको क्रममा कान्ति बाल अस्पतालमा अढाई वर्षीया बालिका दिव्याङ्का उपाध्यायको मृत्यु भएपछि चिकित्सकीय लापरबाहीको आरोपसहित बालिकाकी आमा यशोदा बस्नेतले उपभोक्ता अदालतमा एक करोडभन्दा बढी क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी छन्।
तर घटनाले सतहमा ल्याएको मुख्य सवाल उपचारप्रणालीमै लुकेको लापरबाही हो कि, वा गम्भीर अवस्थाको सटिक मूल्यांकन र समयमै सघन उपचारको अभाव हो? दिव्याङ्कालाई प्रारम्भिक रूपमा सामान्य पेट दुखाइ देखिएको थियो, तर तीन दिनको अवधिमा उनी भेन्टिलेटरसम्म पुगिन्।

आमाले अदालतमा पेश गरेको फिरादपत्रमा भनिएको छ, ‘अस्पतालले एकपछि अर्को परीक्षण गरे पनि, बढ्दो स्वास्थ्य जटिलतालाई प्राथमिकता दिएर नहेरेको, अवस्था बिग्रँदै जाँदा पनि ढिलासुस्तीपूर्ण ढंगले उपचार गराइएको र अन्ततः बिना पूर्वसूचना भेन्टिलेटरमा राखिएको थियाे।’
अस्पतालभित्र नै प्रयोग भएको केही उपकरणको अवस्था ‘बिग्रिएको’ चिकित्सकहरूले पीडितलाई मौखिक रूपमा भनेको र एक्सरे लगायतका परीक्षण बिना प्रेसक्रिप्सन बाहिर पठाएर गरिएको उपचारले पनि अस्पतालको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।

फिरादपत्रमा चिकित्सक डा. आशिष श्रेष्ठ र डा. सुमन अधिकारीलाई लापरबाहीका लागि मुख्य जिम्मेवार देखाउँदै कान्ति अस्पतालको उपचारमा संरचनागत कमजोरी र गैरजिम्मेवार व्यवहारले बच्चाको जीवन गुमाएको दाबी गरिएको छ।
बालिकाकी आमा यशोदा बस्नेत पाठेघरसम्बन्धी दीर्घ रोग ‘सिस्ट’ की बिरामी रहेको उल्लेख गर्दै उनी पुनः सन्तान पाउने सम्भावना निकै न्यून भएकोले यो घटना केवल मृत्युको शोकभन्दा परको अपूरणीय क्षतिको रूपमा वर्णन गरिएको छ।







