काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भाटभटेनी सुपरमार्केट समूहको सहयोगमा निर्माण गरिएको विस्तारित सेवा भवनको उद्घाटन गरेका छन्। अस्पतालको ४३औँ वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भवन उद्घाटन गर्दै स्वास्थ्यप्रति सचेत रहन आम जनसमुदाय र स्वास्थ्यकर्मीलाई सुझाव दिए।
भवन निर्माणमा भाटभटेनी समूहले ९ करोड ५० लाख रुपैयाँ लगानी गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्पतालभन्दा पहिले मान्छे नै निरोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए। ‘निरोगी नेपाल’ नारालाई स्मरण गर्दै उनले खानपान, आहार–विहार र आराममा सन्तुलन कायम गरिनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले चिकित्सकहरूलाई पनि अरूको मात्र होइन, आफ्नो स्वास्थ्यमा पनि ध्यान दिन आह्वान गरे। “व्यायाम, योग, प्राणायाम गर्नुस्, स्वस्थ रहनुस्,” उनले भने।
कार्यक्रममा उनले अस्पताल निर्माणमा सहयोग गर्ने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङको खुलेर प्रशंसा गरे। उनले भने, “कसैले पैसा कमाएर क्यासिनोमा खर्च गर्छन्, गुरुङ दम्पतीले अस्पताल बनाउन दान गर्छन्।”

प्रधानमन्त्री ओलीले नेपालमा चिकित्सा विज्ञानको अभ्यासको इतिहास अत्यन्त पुरानो रहेको उल्लेख गरे। उनले ऋषि सुश्रुतद्वारा तीन हजार वर्षअघि चतरामा गरिएको शल्यक्रियाको उदाहरण दिँदै नेपालको आयुर्वेदिक ज्ञान र अभ्यासलाई विश्वकै प्राचीनतम् ठहर गरे। “पाणिनी, चरक, जनक ऋषिजस्ता महान् ऋषिहरू यहींका थिए,” उनले भने।
त्यस्तै, त्रेतायुगको प्रसंग उल्लेख गर्दै ओलीले लक्ष्मणलाई हनुमानले जडिबुटी खुवाएको दृष्टान्त पनि सुनाए। उनले नेपालको स्वास्थ्य परम्परा र प्राकृतिक उपचार प्रणालीको गौरवशाली इतिहास रहेको बताए।
प्रधानमन्त्री ओलीले अन्त्यमा भने, “नेपालमा धेरै मानिस बिरामी छन्, यसलाई रोक्न हामी सबैले आ–आफ्नो स्थानबाट ध्यान दिनुपर्छ।”







