काठमाडौं – शैक्षिक सत्र २०८२/०८३ का लागि स्वास्थ्य क्षेत्रका शैक्षिक कार्यक्रममा तत्काल भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना दिइएको छ। स्वास्थ्य तथा विज्ञान प्रविधि मञ्चको आयोजनामा सीटीईभीटी (सीटीईभीटी) परिसरमा धर्ना कार्यक्रम गरिएको हो।

हाल सीटीईभीटीले स्वास्थ्यबाहेक अन्य प्राविधिक कार्यक्रमका लागि भर्ना आह्वान गरिसकेको छ। तर स्वास्थ्यतर्फका कार्यक्रम अझै अनिश्चित रहेकाले धर्ना दिइएको मञ्चका महासचिव निर्मल सापकोटाले जानकारी दिए। उनका अनुसार भर्ना प्रक्रिया अझै नखुल्दा विद्यार्थी, अभिभावक र कलेज सञ्चालक अन्योलमा परेका छन्।

यस वर्ष सीटीईभीटीले प्रवेश परीक्षाबिनै एसईईमा ल्याएको अंकका आधारमा विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ। तर चिकित्सा शिक्षा आयोगले अहिलेसम्म सिट निर्धारण नगरेकाले भर्ना प्रक्रिया अघि बढाउन ढिलाइ भएको सीटीईभीटीको भनाइ छ।







