डडेल्धुरा- डडेल्धुरा जिल्ला १०औं पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पहिलो पटक २०७२ साल पुस १० गतेका दिन डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । त्यस यता प्रत्येक वर्ष १६ महिना देखि ५ वर्ष मूनीका सबै बालबालिकाहरु लाई खोप लगाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिदै आएको छ ।
शनिबार सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री सरस्वती खड्काको प्रमूख आतिथ्यमा डडेल्धुरालाई १०औं पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख केशर साउदले जानकारी दिए । उनका अनुसार डडेल्धुरामा हाल १०६ वटा खोप केन्द्रहरुबाट प्रत्येक महिनाको २ गते देखी ८ गतेसम्म नियमित खोप सेवा प्रवाह गरिदै आएको छ ।

यहाँका सात वटै पालिकाका उप्रमुख, स्वास्थ्य शाखा संयोजकलाई प्रमुख अतिथिबाट र जिल्ला पूर्ण खोप समन्वय समिति संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीलाई प्रमाणपत्र हस्तान्तर गरि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा गरिएको थियो ।

यहाँका सात वटा पालिकाका ५२ वटै वडाहरु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिए पश्चात जिल्ला नै घोषणा गरिएको हो । कार्यालय प्रमुख साउदका अनुसार गत माघ महिनाबाट सुरु भएको घरधुरी सर्वेक्षणमा १५ महिना सम्माका जम्मा दुई हजार ३८३ जना बालबालिकाहरु मध्ये तीन जना शुन्य डोज २७ जना केही न केही खोप छुट भएको पाईएको थियो । १६ महिना देखि ५९ महिनासम्मका सात हजार ५२० जना बालबालिकाहरु मध्ये तीन जना शुन्य डोज र ७० जना केही न केही खोप छुट भएका बालबालिका भेटिएका थिए । खोप छुट भएका बालबालिकाहरु लाई वैशाख महिनासम्म राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोप लगाई खोप महिनाका रुपमा मनाईएको थियो ।
प्रदेश पूर्ण खोप समन्वय समितिले भेरिफिकेसन गरि पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि अनुमती प्रदान गरेपछि जिल्लालाई घोषणा गरिएको उनले जानकारी दिए । घोषण कार्यक्रममा प्रत्येक स्थानीय तहबाट एक÷एक जना उत्कृष्ट खोप कार्यकर्ता, उत्कृष्ट महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्य कार्यालयका उत्कृष्ट कर्मचारीलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो ।
अमरगढी नगरपालिकाबाट उत्कृष्ट खोप कार्यकर्ता डडेल्धुरा अस्पतालमा कार्यरत सी.अ.न.मी.नी सुजिता गुरुङ, परशुराम नगरपालिकाबाट जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अ.न.मी.रेखा भट्टराई, आलिता गाउँपालिकाबाट हर्तोला आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अ.हे.व. हेमन्त मडै, भागेश्वरबाट रुपाल स्वास्थ्य चौकीमा कार्यरत सी.अ.हे.व. योगेन्द्र खड्का, अजयमेरुबाट भद्रपुर आधारभूत अस्पतालमा कार्यरत सी.अ.न.मी.नी सावित्री पनेरु, नवदुर्गाबाट बेलापुर स्वास्थ्य चौकीमा कार्यरत अ.हे.व. प्रेम बहादुर साउद र गन्यापधुराबाट असिग्राम स्वास्थ्य चौकीमा कार्यरत नवराज जोशीलाई नगदसहित दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो ।







