काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभरका सबै संघीय अस्पताललाई आफ्ना मेडिकल उपकरणहरूको अवस्था अडिट गरी विवरण बुझाउन निर्देशन दिएको छ।
मन्त्रालयले अस्पतालहरूसँग भएका उपकरण तथा तिनको अवस्था सम्बन्धी यकिन विवरण उपलब्ध नभएको भन्दै अबदेखि अनिवार्य रूपमा उपकरणको लेखापरीक्षण (अडिट) गर्नुपर्ने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पतालहरूमा बिग्रिएका उपकरणबारे चासो व्यक्त गर्दै ती उपकरणको मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मेवारी दिएका थिए। त्यस क्रममा कैयौं उपकरण सामान्य खर्चमै मर्मत गर्न सकिने भए पनि प्रयोगविहीन अवस्थामा थन्किएको पाइएपछि मन्त्रालयले उपकरणको अवस्था बुझ्ने प्रक्रियालाई औपचारिकता दिएको हो।
मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका प्रमुख डा. सरोज शर्माका अनुसार अब उपकरणको स्थिति, मर्मतको आवश्यकता, सुरक्षा र स्टक व्यवस्थापनमा यस प्रक्रियाले स्पष्टता ल्याउनेछ।

उनले भने, “उपकरण अडिटबाट के बिग्रिएको, मर्मत गर्न सकिने अवस्था के हो, कुन उपकरण कहाँ खाँचो छ भन्ने पहिचान हुनेछ। यसले सम्पूर्ण अभिलेख व्यवस्थापनमा समेत सहजता ल्याउँछ।”
हालै राष्ट्रिय आविष्कार केन्द्रमार्फत भएको अध्ययनमा करिब २४ करोड रुपैयाँ लाग्ने उपकरणहरू जम्मा २३ लाख खर्चमा मर्मत सम्भव भएको पुष्टि भएको थियो।
कतिपय संघीय अस्पतालमा उपयोगमा नरहेका उपकरण आवश्यकता भएका स्थानमा पठाउन समेत यो विवरण उपयोगी हुने मन्त्रालयले जनाएको छ।







