

विराटनगर – कोरोना भाइरसको संक्रमणको जोखिम पुनः बढ्न थालेपछि विराटनगर महानगरपालिकाले बुधबारदेखि विशेष खोप अभियान सुरु गरेको छ।
महानगरको स्वास्थ्य महाशाखाका अनुसार दीर्घरोगी तथा ५५ वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई लक्षित गर्दै खोप कार्यक्रम सञ्चालन गरिएको हो।
खोप महानगरका सबै १९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा सहज रूपमा उपलब्ध हुनेछ। खोप लगाउने दिन कुनै स्वास्थ्य समस्या देखिएमा परीक्षणपश्चात पनि खोप लिन सकिने जानकारी स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवले दिए।
पछिल्लो विवरणअनुसार विराटनगर महानगरपालिका क्षेत्रका चार जनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये विराटनगर–२ मा संक्रमण देखिएको छ। महानगरले संक्रमणको लहर पुनः सक्रिय हुने संकेत देखिएकाले उच्च सतर्कता अपनाइएको जनाएको छ।
संक्रमितहरूमा सामान्य लक्षण मात्रै देखिए पनि समुदायमा संक्रमण फैलिन नदिन सतर्कता अत्यावश्यक रहेको भन्दै, विशेषतः उमेर र स्वास्थ्यको हिसाबले कमजोर समूहलाई खोप अनिवार्य देखिएको डा. यादवले बताए।
साथै, महानगरपालिकाले मास्क प्रयोग गर्न, भिडभाडबाट टाढा रहन, साबुनपानीले हात धुन र आधारभूत स्वास्थ्य सावधानी अपनाउन सबै नागरिकलाई आग्रह गरेको छ। खासगरी ज्वरो, खोकी, नाकबाट पानी बग्ने वा सास फेर्न गाह्रो हुने लक्षण देखिएमा तुरुन्त चिकित्सकको सम्पर्कमा पुग्न भनिएको छ।



