

काठमाडाैं- सरकारले द्वन्द्वपीडित, जनआन्दोलन र भूकम्पमा घाइते भएका व्यक्तिहरूको उपचार खर्च अब बेहोर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा मधेस–तराई आन्दोलनका घाइते, द्वन्द्वपीडित र भूकम्पका घाइतेहरूको औषधि उपचार खर्च अस्पताललाई सोधभर्ना गर्ने कार्यविधि स्वीकृत गरेका छन्।
यस कार्यविधिमा घाइतेहरूको उपचारसँगै अङ्ग प्रत्यारोपण र आवश्यक सहयोग सामग्रीको व्यवस्था पनि गरिने उल्लेख छ। साथै, अंगभंग भएकाहरूलाई कृत्रिम अङ्ग पनि प्रदान गर्न पाइने व्यवस्था गरिएको छ।
घाइतेहरूको स्वास्थ्य उपचार देशभरका सरकारी र सामुदायिक अस्पतालहरूमा गरिनेछ।
अघिल्लो समयमा घाइतेहरूले स्वास्थ्य उपचारमा बजेटको अभावले समस्या भोग्दै आएका थिए भने आगामी आर्थिक वर्षका लागि उनीहरूको उपचारका लागि छुट्टै बजेट विनियोजन गरिएको छ।



