

चितवन– भरतपुर कारागारमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखा परेको छ। कारागारभित्र रहेका २२ जनामा समस्या देखिएपछि उनीहरूलाई उपचार सुरु गरिएको छ।
कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार, रुघा ज्वरोका कारण सङ्क्रमण फैलिन नदिन २२ जनालाई अलग राखेर उपचार गरिएको हो।
मौसम परिवर्तन र वर्षात्का कारण यो समस्या देखिएको बताए। सङ्क्रमित बिरामी, क्षयरोगी लगायत अन्य स्वास्थ्य समस्या भएका कैदीबन्दीलाई पनि छुट्टै राखेर उपचार गरिने गरेको ढुङ्गानाले बताए।
कारागारमा रोग फैलन नदिन उच्च सतर्कता अपनाइएको छ र कैदीबन्दीलाई सरसफाइ र खानपानमा विशेष ध्यान दिन अनुरोध गरिएको छ।
कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भएका कारण र मौसम परिवर्तनसँगै महामारी फैलन सक्ने सम्भावना रहेकाले आवश्यक सुरक्षा र सावधानी अपनाउन निर्देशन दिइएको छ।
कारागारमा हाल ७१६ जना कैदीबन्दी छन् जसमा चार जना आश्रित बालबालिका पनि छन्। क्षमता ३५ महिला र ४७० पुरुषको भए तापनि अहिले ४३ महिला र ६७३ पुरुष कैदीबन्दी रहेका छन्।



