

काठमाडौं– स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध मानिसहरूले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन्।
मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धता अनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख रुपैयाँ उपचार सहायता दुई लाख रुपैयाँसम्म पाउने जानकारी दिएका छन्।
‘कडा रोग लागेर उपचारका लागि खर्च जुटाउन समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने उद्देश्यले साउन १ गतेदेखि आठ प्रकारका बिरामीहरूले स्वास्थ्य बीमा कार्यक्रममार्फत दुई लाख रुपैयाँसम्म उपचार सुविधा पाउने व्यवस्था गरेका छौं,’ उनले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
उनका अनुसार क्यान्सर, मुटु, मृगौला, हेड इन्ज्युरी, स्पाइनल इन्ज्युरी, सिकलसेल एनिमिया, पार्किन्सनिजम र अल्जाइमरका बिरामीहरूले यो सुविधा पाउन सक्नेछन्।
मन्त्री पौडेलले यसअघि आठ जटिल रोगका बिरामीको उपचार रकम वृद्धि गर्ने घोषणा गरेका थिए र सो अनुसार मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गरेको थियो।
मंगलबार राति बसेको बोर्ड बैठकले पनि आठ जटिल रोगीलाई दुई लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिएका छन्।
यो निर्णय साउन १ गतेदेखि लागू हुनेछ।



