

काठमाडौँ- नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ संशोधनको माग गर्दै आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गर्दै आन्दोलन जारी राखेका छन्। संघले सोमबारदेखि सुरु गरेको आन्दोलनमा सरकारी, निजी अस्पताल र क्लिनिकहरू समेत सहभागी छन्।
संघका अध्यक्ष अनिल विक्रम कार्कीले आज माइतीघर मण्डलामा भएको प्रदर्शनमा बोल्दै आफ्नो पेशालाई धमिल्याउने प्रयास भएको आरोप लगाए। उनले भने-
“हामी इच्छाले आएका हैनौं, यो हाम्रो बाध्यता हो। केही सिमित उपभोक्ताकर्मीका नाममा हाम्रो यो पवित्र पेशालाई धमिल्याउने काम भइरहेको छ। हामीले रातदिन कसैलाई माछौं भनेर होइन, बचाउँछौं भनेर पढेका हौं। हामीले पढेका किताबमा त्रुटि हुनसक्छ, साइड इफेक्ट हुनसक्छ, र कहिलेकाहीँ थाहा नभएका रियाक्सन भएर बिरामीको मृत्यु हुनसक्छ भनिन्छ। हामीलाई लाइसेन्स दिने मेडिकल काउन्सिल तर कारबाही गर्ने चाहिँ उपभोक्ता अदालत? यो कस्तो विडम्बना हो? त्यहाँबाट हामीले करोडौंमा तिर्नुपर्ने रे !
अनि यो मान्छेको मूल्य सडक र अस्पतालमा फरक हुन थालेको छ। सडक दुर्घटनामा ५ लाख, अस्पतालमा डेढ करोड। भनेपछि यहाँ स्वास्थ्यलाई कसले व्यापार बनाउन थालेको छ, छर्लङ्ग छ। हामीलाई यहाँ दण्ड दिएर बिरामीलाई कसले विदेश पठाउन थालेको छ, छर्लङ्ग छ। हामी नागरिकको स्वास्थ्यप्रति संवेदनशील छौं, त्यही भएर हामीले आकस्मिक सेवा बन्द गरेका छैनौं। हामी न्यायालयको सम्मान गर्छौं। तर, न्यायालयको डमरु बनाएर तर्साउने काम नगर्नुहोस्। हामी यो ऐन संशोधन नगरेसम्म विश्राम गर्दैनौं।”
संघको अनुसार, ऐनको वर्तमान प्रावधानले चिकित्सकलाई अनावश्यक परीक्षण गर्न बाध्य बनाउने, मनोवैज्ञानिक तनाव सिर्जना गर्ने र बिरामीको उपचार खर्चमा समेत वृद्धि ल्याउने खतरा छ। संघले ऐन संशोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।



![हामीले कसैलाई माछौं भनेर हैन, बचाउँछौं भनेर पढेका हौं : अध्यक्ष कार्की [भिडिओ]](https://swasthyadiary.com/wp-content/uploads/2025/07/anil-1024x579.png)