

काठमाडौँ- नेपाल चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्दै आन्दोलन जारी राखेका छन्।
सङ्घले सोमबार आकस्मिक तथा सघन उपचार सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको थियो। आन्दोलनमा सरकारी, निजी अस्पताल र क्लिनिकहरूले समेत ऐक्यबद्धता जनाएका छन्।
उपभोक्ता संरक्षण ऐन, २०७५ मा संशोधन हुनुपर्ने माग गर्दै सङ्घले देशभरका अस्पतालमा उपचार सेवा बहिष्कार गरेको हो। उपभोक्ता अदालतले पछिल्ला दिनमा चिकित्सकीय लापरबाहीका मुद्दामा अस्पताललाई क्षतिपूर्ति भराउने फैसला गरेपछि सङ्घले त्यसप्रति आपत्ति जनाउँदै आन्दोलन थालेको हो।
चिकित्सक सङ्घका महासचिव डा. सञ्जीव तिवारीका अनुसार ऐनको दफा २ मा स्वास्थ्य सेवालाई अन्य सेवासँग एउटै तहमा राखिएको छ, जसले चिकित्सा अभ्यासमा असर पार्ने भन्दै विरोध गरिएको हो। उनका अनुसार चिकित्सा सेवा उपभोक्ता ऐनको दायरामा ल्याइएमा चिकित्सकहरूले आत्मरक्षा स्वरूप अनावश्यक परीक्षण गर्नुपर्ने, ‘रिफरल’ केसहरू बढ्ने, मनोवैज्ञानिक तनाव हुने र बिरामीको खर्च समेत बढ्ने खतरा रहेको छ।
सङ्घले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा राजधानीका चिकित्सक र स्वास्थ्यकर्मीको धर्ना आयोजना गरेको छ भने उपत्यकाबाहिर सम्बन्धित स्थानहरूमा प्रदर्शन गरिएको छ।
आन्दोलन दबाबस्वरूप सङ्घले मंगलबार पनि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ। माइतीघर मण्डलामा पुनः प्रदर्शन गर्ने र नेपाल मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने कार्यक्रम तय गरिएको महासचिव तिवारीले बताए।



