

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेदिक तथा परम्परागत औषधी उत्पादनलाई निर्यातयोग्य बनाउन ‘औषधी उत्पादन कुशल अभ्यास दोस्रो संहिता’ (जिएमपी दोस्रो संहिता) स्वीकृत गरेका छन्।
हालसम्म नेपालमा आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणालीअन्तर्गत उत्पादन हुने औषधीमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त जिएमपी प्रमाणपत्र दिने व्यवस्था थिएन, जसले निर्यातमा अवरोध ल्याएको थियो।
नयाँ संहिताअनुसार उत्पादकहरूले उत्पादन प्रक्रिया, भण्डारण, प्रविधि लगायतका विषयमा तोकिएको मापदण्ड पालना गर्नुपर्नेछ। यो मापदण्ड पुरा गरेपछि औषधी व्यवस्था विभागबाट जिएमपी प्रमाणपत्र प्राप्त गर्न सकिनेछ।
स्वीकृत संहिताले नेपाली आयुर्वेद, होमियोप्याथीलगायत परम्परागत औषधी उत्पादकहरूलाई आफ्ना औषधी वैधानिक रूपमा निर्यात गर्न मार्ग खुलेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
यसअघि एलोप्याथिक औषधीले मात्र यस्तो प्रमाणपत्र पाउँथे भने परम्परागत औषधी निर्यात गर्न नसकिने अवस्था थियो। अब त्यो अवरोध हट्ने भएको छ।


