काठमाडौँ- उपभोक्ता अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघको आह्वानमा आइतबार चिकित्सकहरूले आ–आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना दिएका छन्।

संघले चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत प्रत्येक चिकित्सकले आफ्नो कार्यस्थलमै एक घण्टा धर्ना दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आइतबार देशभर चिकित्सकहरूले कामकाजका बीचमा एक घण्टा धर्ना दिएका हुन्।

यसैक्रममा संघले सम्पूर्ण शाखा कार्यालयलाई चिकित्सकहरूको हस्ताक्षर र नेपाली मेडिकल काउन्सिलको प्रमाणपत्र सङ्कलन गरी सोमबारभित्र केन्द्रीय कार्यक्रमा बुझाउन आग्रह गरेको छ। ती प्रमाणपत्रहरू मङ्गलबार काउन्सिलमा बुझाउने कार्यक्रम तय गरिएको छ।
संघको आन्दोलनप्रति एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एशोसिएसन, नेपाल फिजियोथेरापी एशोसिएसन, नेपाल भेटेरिनरी एशोसिएसन, एनाभीएमआईए र एनपीएचओले ऐक्यबद्धता जनाएका छन्।







