काठमाडौं – कलंकी–रविभवन क्षेत्रस्थित ‘निर्जरा ब्युटी सलोन’ले गैरकानुनी रूपमा दन्तसम्बन्धी सेवा प्रदान गरिरहेको खुलासा भएको छ। सामाजिक सञ्जाल विशेषगरी टिकटकमा भाइरल भएका भिडियोहरूमा उक्त सलोनले चाँदीजस्ता धातु प्रयोग गरी दाँतमा सजावट गर्ने र अन्य दन्तसम्बन्धी काम गरिरहेको देखिएको हो।

नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय महासचिव डा. प्रदिप भण्डारीका अनुसार यस्तो सेवा नेपालमा कानुनी रूपमा प्रमाणित दन्त चिकित्सकबाहेक अरू कसैले दिन मिल्दैन। तर उक्त सलोनले कुनै प्रमाणिकता नदेखाई यस्तो सेवा दिँदै आएको पाइएको छ।
एसोसिएसनका अर्का केन्द्रीय सदस्य भुमेश काफ्लेले यस्ता कार्यले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउने चेतावनी दिए। “दाँत र मुखको स्वास्थ्य संवेदनशील विषय हो, अनधिकृत व्यक्तिबाट सेवा लिँदा दीर्घकालीन क्षति हुन सक्छ,” उनले भने।

अनैतिक र गैरव्यावसायिक अभ्यास बढ्दै जाँदा आमनागरिकको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले स्थानीय प्रशासन र सम्बन्धित नियामक निकायहरूले तुरुन्तै हस्तक्षेप गर्नुपर्ने आवाज उठेको छ।
स्थानीय बासिन्दा तथा उपभोक्ताहरूले यस्तो कार्यप्रति चिन्ता व्यक्त गर्दै अनुगमन र कारबाहीको माग गरेका छन्।







