

काठमाडौं – नेपाल अप्थाल्मिक सोसाइटीले नेपाल मेडिकल एसोसिएसनद्वारा सुरु गरिएको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आफ्ना सदस्यहरूलाई ७२ घण्टासम्म कालो पट्टी बाँधेर सेवा दिन आग्रह गरेको छ।
नेपाल मेडिकल एसोसिएसनले उपभोक्ता अदालतको निर्णयविरुद्ध विरोध जनाउँदै असार १७ गतेदेखि ७२ घण्टासम्म सबै स्वास्थ्य सेवा प्रदायकहरूलाई कालो पट्टी बाँधेर सेवा दिन आह्वान गरेको थियो। त्यसको समर्थनमा नेपाल अप्थाल्मिक सोसाइटीले २०८२ असार १६ गते प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना सबै सदस्य, अप्टोमेट्रिस्ट, आँखा सहायक, आँखा स्वास्थ्यकर्मी तथा आँखा स्वास्थ्य संस्थाहरूलाई सतर्क रहन र एकीकृत आन्दोलनमा सहभागी हुन अनुरोध गरेको हो।
संस्थाका महासचिव डा. तेजसु सिंह मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नेपाल मेडिकल एसोसिएसनको नेतृत्वमा भइरहेको सामूहिक कदमप्रति हाम्रो संस्था पूर्णरूपमा प्रतिबद्ध छ। हामी सदस्यहरूलाई नियमित जानकारी गराउनेछौं।”
नेपाल अप्थाल्मिक सोसाइटीले आँखा क्षेत्रसँग सम्बन्धित सबै पेशाकर्मीलाई ऐक्यबद्धता देखाउँदै जिम्मेवार र संगठित ढंगमा प्रस्तुत हुन पनि आह्वान गरेको छ।


