

काठमाडौँ – अनुहारको हाड जोर्नी (टीएमजे), टाउको तथा अनुहार दुखाइ, घुर्ने समस्या र निद्रामा सास अड्किने जस्ता जटिल तर प्रायः उपेक्षित रोगहरूको उपचारमा समर्पित कान्तिपुर डेन्टल कलेजले न्युरोमस्कुलर डेन्टिष्ट्रि विभाग स्थापना गरेकाे एक वर्ष पूरा भएकाे छ।
कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र (केडीसी), बसुन्धरास्थित यो विभागले द राइट बाइट, स्लीप एन्ड टीएमजे केयर र नेशनल इन्स्टिच्युट अफ क्रेनियोफेसियल सर्जरीसँगको सहकार्यमा सेवा दिइरहेको छ।
विभाग प्रमुख डा. अंकित शाहका अनुसार स्थापना भएदेखि अहिलेसम्म २६६ जनाले परामर्श सेवा लिएका छन् भने ४३ जना बिरामीले विशेष उपचार पनि गराइसकेका छन्। उनले भने, “बिरामीहरू प्रायः जिब्रो चलाउँदा क्लिक हुने, अनुहार दुख्ने, टाउको दुख्ने, बोल्न वा चपाउन गाह्रो हुने, घुर्ने वा निद्रामा सास अड्किने समस्या लिएर आउँछन्।”
डा. शाहले थपे, “यस्ता समस्या सामान्य देखिए पनि दीर्घकालीन रूपमा ठूलो असर पुर्याउन सक्छन्, त्यसैले सुरुवाती चरणमै पहिचान गरी उपचार गर्न आवश्यक छ।”
विभागले अत्याधुनिक प्रविधिहरूको प्रयोग गर्दै सेवा दिइरहेको छ। यसमा त्रिविमीय सीबीसीटी इमेजिङ, हाड जोर्नी एक्स–रे (खुला र बन्द), निद्रा परीक्षण (पलिसोमनोग्राफी), के–७ मूल्यांकन प्रणाली (काइनेसियोग्राफी र सोनोग्राफी), जे–५ टेन्स उपकरण, ओक्लुसेन्स परीक्षण, पोस्चर मूल्यांकन र रक्त परीक्षणजस्ता सुविधाहरू समावेश छन्।
यो विभागमा दन्त पङ्क्ति सुधार, खप्पर–अनुहार शल्यक्रिया, कान–नाक–घाँटी, निद्रा चिकित्सा, न्युरोलोजी लगायत विभिन्न शाखाका विशेषज्ञ चिकित्सकहरूको सहकार्यमा बहुआयामिक उपचार सुविधा प्रदान गरिन्छ।
केडीसीमा विसं २०७३ देखि नै आर्थ्रोस्कोपी, दागविनाको टीएमजे सर्जरी र टीजेआर (अनुहारको हाड जोर्नी प्रत्यारोपण) जस्ता सेवा सञ्चालनमा छन्। तर गत वर्षदेखि यी सेवालाई थप परिस्कृत गर्नका लागि विश्वकै उत्कृष्ठ मानिने ‘के ७’ भनिने ज ट्रयाकर, ‘जे ५’ टेन्स, ओक्लुसेन्स, निद्रा तथा घुर्ने समस्या अध्ययन गर्ने उपकरणहरू भित्र्याएर सेवा दिन थालेको अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए।
उनले भने, “यस किसिमको बहु विभागीय चिकित्सा सेवा एउटै छानामुनि विश्वभरै बिरलै स्थापना हुने गरेको छ। यसमा न्युरोमस्कुलर डेन्टिष्ट्रि, क्रेनियोफेसियल सर्जरी, ईएनटी, स्लिप मेडिसिन, न्युरोलोजी, अर्थोडन्टिक्स लगायतका अन्य दन्त सेवा विभागहरूको सहकार्य रहनेछ।”
विभाग स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा हिजाे आइतबार केडीसी अस्पताल परिसरमा विशेष कार्यक्रम आयोजना गरिएकाे थियाे। कार्यक्रममा विभागका प्रमुख डा. शाह, डा. ज्योती नेपाल र अस्पतालकी निर्देशक डा. प्रतिक्षा श्रेष्ठले विभागका सेवाहरू, उपलब्धि र भविष्यका योजनाहरू प्रस्तुत गरेका थिए।
अस्पतालकी निर्देशक डा. श्रेष्ठले आगामी दिनमा सेवा अझ परिस्कृत गर्दै कान्तिपुर डेन्टल कलेजलाई मुख तथा दन्त उपचारको क्षेत्रमा अझ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेकी थिइन्।



