

काठमाडौं – बच्चाले समयमै बोल्न जान्नुपर्छ। यदि ढिलो देखिन्छ भने तत्काल चिकित्सकसँग परामर्श गरेर कान परीक्षण गराउनुहोस्। समस्या छ भने हियरिङ एड र स्पिच थेरापीमार्फत बालबालिकालाई सामान्य अवस्थामा ल्याउन सकिन्छ। ललितपुरमा रहेको बीएण्डबी अस्पतालले विगतदेखि नै यी समस्याहरूकाे उपचार गरिरहेकाे छ ।
बालबालिका बोल्न ढिलो गर्नु सामान्य जस्तै देखिए पनि त्यसका पछाडि गम्भीर कारणहरू लुकेका हुनसक्छन्। बीएण्डबी अस्पतालमा कार्यरत नाक, कान, घाँटी विशेषज्ञ डा. अश्बिना केसीका अनुसार, बच्चाले समयमै बोल्न नजानु केवल “अझै सानो छ, बोल्ला” भनेर बेवास्ता गर्न मिल्ने कुरा होइन।
ढिलो बोल्नुको मुख्य कारण – सुन्ने समस्या
डा. केसीका अनुसार बालबालिका बोल्न नजानुका पछाडि सबैभन्दा पहिलो हेर्नुपर्ने कुरा हो – उ सुन्छ कि सुन्दैन? “बोल्नका लागि पहिला सुन्न जान्नुपर्छ,” उनले भनिन्। बच्चाले राम्रोसँग सुन्न नसकेमा, स्वाभाविक रूपमा बोल्नमा पनि ढिलाइ हुन्छ। त्यसैले, बच्चाले बोल्न ढिलो गरिरहेको देखिएमा प्रारम्भमै कानको परीक्षण आवश्यक हुन्छ।
यदि बच्चामा सुन्ने समस्या देखियो भने, चिकित्सकको सल्लाहअनुसार हियरिङ एड लगाइन्छ। साथै बालबालिकालाई स्पिच थेरापी दिइन्छ, जसबाट उनीहरू बोल्न सिक्न थाल्छन्।

डा. अश्बिना केसीका अनुसार केही बच्चामा स्नायु प्रणालीको कमजोरी वा सम्पूर्ण शारीरिक विकासमा ढिलाइ भएको कारणले पनि बोली ढिलो आउन सक्छ। यस्तो अवस्थामा केवल स्पिच थेरापी मात्र पर्याप्त नहुनसक्ने र बहु–विषयगत मूल्यांकन आवश्यक पर्न सक्छ।
बोल्न सुरु गरेपछि पनि कतिपय बच्चा तोते बोली बोल्छन्, जसलाई अभिभावकहरूले सामान्य ठान्ने गर्छन्। तर डा. केसीका अनुसार, यसलाई बेवास्ता गर्नु हुँदैन। प्रारम्भिक चरणमै स्पिच थेरापी गराएमा यो समस्या पूर्णरूपमा समाधान गर्न सकिने डा केसीले बताइन्।
डा. केसीले अभिभावकहरूलाई सजग हुन आग्रह गर्दै भनिन्, “बोल्न ढिलो गरिरहेको छ भने बच्चा सुन्छ कि सुन्दैन भनेर हेर्नुहोस्। समयमै पहिचान भयो भने अधिकांश समस्या समाधान हुन्छ।” उनले भनिन्, “बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासको महत्वपूर्ण पाटो बोली हो, त्यसैले यसलाई उपेक्षा नगर्नुहोस्।”


