
–डाक्टर पवनराज पाठक
मैले दिनमा सालाखाला ३०-४० जना बिरामी हेर्ने गर्छु। जनरल ओपीडी र इमरजेन्सी गरेर फरक फरक प्रकृतिका रोग र विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक परिवेशका बिरामी हेर्ने अवसर मलाइ प्राप्त हुन्छ। नेपालजस्तो देशमा बसेर दिनमा ३०-४० जना बिरामी हेर्नु भनेको सामान्य कुरा नै हो ! तर मेरो काम भन्दा मेरो कामले जन्माएको अन्तरविरोधले म ज्यादा थकित हुन्छु।
उपचार गर्दा मैले बिरामी को चप्पल हेर्नु पर्ने अवस्था छ। म कहाँ आएको बिरामीले कुन जाँचहरु गर्न सक्छ, उसले कुन औषधि उपचार किन्न सक्छ भनेर म एकछिन आफैँ रुमल्लिन्छु र बिरामीसँग केहिबेर गफ्फेर उसका दु:ख सुखहरु एकैछिन साटेर म औषधि उपचार र टेस्टहरु लेख्ने गर्छु। यो मेरो बाध्यता हो। म चाहन्छु कि सबैजनाले एकै किसिमको उपचार पाउन् तर पोल्टोमा वृद्धा भत्ता जम्मा गरि उपचार खोज्न आएकी हजुरआमालाई उनको रोग अनुसारका सबै जाँचहरु गराउने हिम्मत पनि आउँदैन।
“यो जाँचहरु पछि गरौंला डाक्टर साब, अहिलेलाइ औषधि मात्र लेखिदिनुस” – मैले दिनभरिमा यही वाक्य सबैभन्दा बढी सुन्छु ! बिना जाँच, बिरामीको हिस्ट्री र मेरो क्लिनिकल चस्माले देखेसम्मको रोगको प्रकृतिलाई केलाएर उपचार गर्न बाध्य म एक डाक्टर ! बिरामीको चप्पल हेरेर उसलाई के जाँच गराउने, के नगराउने भनेर कल्पिन बाध्य म एक डाक्टर ! बिरामीको चप्पल हेरेर उसको खल्तीको गहिराईको आंकलन गर्न बाध्य म एक डाक्टर !


