
गुल्मी- चार पटक म्याद थप गरिसक्दा पनि गुल्मी अस्पताल तम्घासको नयाँ भवन निर्माणले पूर्णता पाउन सकेको छैन । निर्माण सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि भवन अधुरै रहेपछि अस्पतालको सेवा प्रवाह प्रभावित बनेको छ ।
२०७८ असार १८ गते स्वच्छन्दरबानियाँ जेभी, मकवानपुरसँग अस्पताल भवन निर्माणको सम्झौता गरिएको थियो । भ्याटबाहेक २५ करोड ९४ लाख रुपैयाँ लागत रहेको उक्त योजनाको काम अझै सम्पन्न हुन सकेको छैन ।
सडक, सहरी तथा भवन निर्माण आयोजना पाल्पाका इन्जिनियर अभिषेक अधिकारीका अनुसार हालसम्म भवन निर्माणको भौतिक प्रगति ८५ प्रतिशत र आर्थिक प्रगति ७६ दशमलव ५ प्रतिशत पुगेको छ । सम्झौताअनुसार निर्माण कम्पनीले २०८० असार १७ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो ।
समयमै निर्माण पूरा नभएपछि पहिलो पटक २०८० असार १८ गतेदेखि पुस १७ गतेसम्म म्याद थप गरिएको थियो । त्यसपछि दोस्रो पटक २०८० पुस १८ गतेदेखि २०८१ पुस १७ गतेसम्म र तेस्रो पटक २०८१ पुस १८ गतेदेखि २०८२ कात्तिक ७ गतेसम्म समय थप गरिएको इन्जिनियर अधिकारीले बताए ।
हाल चौथो पटक २०८२ कात्तिक ९ गतेदेखि आगामी जेठ १७ गतेसम्म म्याद थप गरिए पनि कामको प्रगति सन्तोषजनक नभएको उनको भनाइ छ ।
उनका अनुसार भवन बाहिरको संरचना, र्याम्प निर्माण, ट्रान्सफर्मर तथा जेनेरेटर जडानलगायतका काम अझै बाँकी छन् । पर्याप्त जनशक्ति र निर्माण सामग्री व्यवस्थापन भए एक महिनाभित्र काम सम्पन्न गर्न सकिने अधिकारीले बताए ।
निर्माण कार्य लम्बिँदा अस्पताल प्रशासनलाई सेवा प्रवाहमा ठूलो समस्या भइरहेको छ । ५० शय्यामा स्तरोन्नति भएको अस्पतालमा हालको भवन पर्याप्त नभएको अस्पताल प्रशासनले जनाएको छ । दैनिक औसत २५० सेवाग्राही अस्पताल आउने गरेकाले एउटै कोठाबाट धेरै चिकित्सकले सेवा दिनुपर्ने बाध्यता रहेको छ ।
चौतर्फी आलोचना र ताकेता भइरहे पनि निर्माण कम्पनी अझै रङरोगन, विद्युतीय जडान तथा फिनिसिङका काममै अल्झिएको छ ।
भारत सरकारको पूर्ण आर्थिक सहयोगमा सडक, सहरी तथा भवन निर्माण आयोजना पाल्पामार्फत योजना कार्यान्वयन भइरहेको हो ।
गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विभव बस्यालले पूर्वाधार अभावका कारण अस्पतालले पछिल्लो समय कमाएको विश्वास र साख जोगाइराख्न कठिन भइरहेको बताए ।
“काम रोकिएको जस्तो पनि देखिँदैन, तर उल्लेख्य प्रगति पनि छैन । नयाँ सेवा विस्तारसँगै नियमित सेवा सञ्चालनमै ठूलो समस्या भइरहेको छ,” उनले भने ।
भवन अभावकै कारण अस्पतालमा आइसियु सञ्चालन र मिर्गौला डायलाइसिस सेवा विस्तार गर्न नसकिएको उनले बताए । भिडियो एक्स–रे गराउन आउने बिरामीका कुरुवाका लागि बस्ने ठाउँसमेत नभएको तथा पुराना संरचना र वायरिङका कारण इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणाली सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ ।
विशेषज्ञ सेवा तथा आधुनिक उपकरण थपेर सेवा विस्तार गर्न नयाँ भवन अपरिहार्य भए पनि पटक–पटक ताकेता गर्दा समेत निर्माण कार्यले गति लिन नसकेको अस्पताल प्रशासनको गुनासो छ ।


