

काठमाडौं – स्वास्थ्य पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि ‘स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ’ विषयमा एक दिने कार्यशाला बिहीबार काठमाडौंमा सम्पन्न भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र स्वास्थ्य पत्रकार मञ्च, नेपाल (एचजेएफएन)को संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
कार्यशालाको उद्घाटन सत्रमा परिषद्का अध्यक्ष प्रा. डा. नारायण विक्रम थापाले स्वास्थ्य अनुसन्धान र सञ्चारको सहकार्यले स्वास्थ्य प्रणाली सुधारमा टेवा पुग्ने बताए। “अनुसन्धानको नतिजा जनस्तरसम्म पुर्याउन मिडियाको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ,” उनले भने।
कार्यक्रममा डा. गणेश दंगाल, परिषद्का सदस्य सचिव डा. प्रमोद जोशी, वरिष्ठ पत्रकार शिव गाउँले, डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदी र डा. युविन यादवले विभिन्न विषयमा प्रस्तुति दिएका थिए।
डा. प्रमोद जोशीले ‘नेपालमा स्वास्थ्य क्षेत्रको अनुसन्धानको निकाय’ शीर्षकमा प्रस्तुति दिँदै पारदर्शिता, उत्तरदायित्व र तथ्यमा आधारित पत्रकारिताको खाँचो रहेको बताए। साथै, अनुसन्धानलाई नीतिगत निर्णयको आधार बनाउन आवश्यक रहेको उनले बताए।
वरिष्ठ पत्रकार शिव गाउँलेले स्वास्थ्य क्षेत्रमा खोज पत्रकारिता र खबरदारी अपेक्षाकृत कमजोर रहेको भन्दै पत्रकारहरूलाई गहिराइमा पुगेर काम गर्न सुझाव दिए। उनले जनस्वास्थ्यसँग सम्बन्धित थुप्रै विषयहरू उजागर हुन बाँकी रहेको बताए।
डा. गणेश दंगालले ‘जनस्वास्थ्यको अनुसन्धान पद्धति: सिद्धान्त र अभ्यास’ विषयमा आफ्नो अनुभव प्रस्तुत गर्दै अनुसन्धानकर्ताहरूले अपनाउनुपर्ने पद्धति र सामना गर्नुपर्ने चुनौतीहरूबारे चर्चा गरे। उनले यस्ता अनुसन्धानलाई समाचारमा कसरी रूपान्तरण गर्ने भन्ने पक्षमा समेत सुझाव दिए।
प्रवेश सुवेदीले ‘कृत्रिम बौद्धिकता (एआई) र मिडियाका नयाँ प्रविधिहरू’ शीर्षकमा प्रस्तुति दिँदै स्वास्थ्य रिपोर्टिङमा एआई प्रविधिको प्रयोग कसरी प्रभावकारी हुन सक्छ भन्नेबारे जानकारी दिए।
अन्तिम सत्रमा डा. युविन यादवले ‘चिकित्सा विज्ञानमा अनुसन्धानको महत्व’ विषयमा प्रस्तुति दिएका थिए। कार्यशालाको समापनमा स्वास्थ्य पत्रकार मञ्चका कार्यवाहक अध्यक्ष बुद्धि कटेलले यस्ता कार्यक्रमले अनुसन्धानमूलक पत्रकारिता प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।


