

भोजपुर- दुर्गम क्षेत्रका नागरिकलाई सहज सेवा दिन यहाँको खोक्सिकमा पक्की स्वास्थ्यचौकी भवन बनाउन सुरु भएको छ। सहकारीको घरबाट स्वास्थ्यचौकी चलाउन कठिन भएपछि पक्की भवन निर्माण सुरु गरिएको हो।
आफ्नै ठाउँमा स्वास्थ्यचौकीको पक्की भवन बन्दै गरेकोमा स्थानीय सूर्य राईले उत्साह व्यक्त गरे। पक्की भवन बनेपछि सहज सेवा पाइनेमा आशावादी भएको उनको भनाइ छ। पहिले स्वास्थ्यचौकी नहुँदा सामान्य सेवा लिन दुईदेखि तीन घण्टा हिँडेर अन्य ठाउँ जानुपर्ने बाध्यता रहेको उनले बताए।
‘हाम्रो ठाउँमा स्वास्थ्यचौकी नै थिएन,’ उनले भने, ‘स्थानीय तह आएपछि स्वास्थ्यचौकी स्थापना भयो। तर भवन नहुँदा समस्या थियो। नयाँ पक्की भवन बनेपछि उत्साह थपिएको छ।’
रामप्रसादराई गाउँपालिका–८ खोक्सिक भौगोलिक हिसाबले दुर्गम क्षेत्र हो। देशमा सङ्घीयता आएपछि यहाँ स्वास्थ्यचौकी स्थापना भएको छ। तर भवन नहुँदा सेवा प्रवाहमा समस्या थियो। वडाको पहलमा प्रदेश सरकारको रु २५ लाख बजेटमा चारकोठे पक्की भवन बनिरहेको वडाध्यक्ष बाचकुमार राईले बताए। भवन निर्माण अन्तिम चरणमा छ। पहिले स्वास्थ्यचौकी नहुँदा धेरै समस्या भएकाले वडाको जिम्मेवारी लिएपछि स्वास्थ्यचौकी सञ्चालन गरेको उनले बताए।
यो ठाउँ भोजपुर सदरमुकामबाट ५० किलोमिटर टाढा छ। कच्ची सडकले गर्दा सदरमुकामसम्म स्वास्थ्य सेवा लिन आउन निकै कठिन छ। यहाँ आफ्नै स्वास्थ्यचौकी भवन बनेपछि सेवा लिन सहज हुने स्थानीयको भनाइ छ।


