काठमाडौं- रेडियोग्राफी पेसामा आवद्ध स्वास्थ्यकर्मीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रस्तावित ओएनएम संरचनाको विरोधमा पाँच दिनदेखि आन्दोलनमा छन्। उनीहरूले हातमा कालोपट्टी बाँधेर कार्यस्थलमै विरोध जारी राखेका छन्।

सरकारी रेडियोग्राफी संघ, नेपालका अनुसार मन्त्रालयले रेडियोग्राफी पेसामाथि गरेको उपेक्षा, अवहेलना र अपमानप्रति असन्तुष्टि जनाउँदै विरोध सुरु गरिएको हो। संघले आजसम्म मन्त्रालयले संवादको पहल नगरे थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएको छ।

संघले आन्दोलनको पाँचौँ दिनसम्म मन्त्रालयबाट कुनै प्रतिक्रिया नआएको भन्दै गम्भीर आपत्ति जनाएको छ। उनीहरूले रेडियोग्राफी पेसाकर्मीको व्यावसायिक हैसियत, योगदान र अस्तित्वलाई निरन्तर बेवास्ता गरिएको आरोप लगाएका छन्।
संघका अनुसार पेसाकर्मीहरूलाई कार्यको मूल्यांकन, पदस्थापन र समुचित संरचनामा स्थान नदिइएको अवस्था स्वीकार्य छैन। आन्दोलन जारी राख्दै सशक्त दबाब सिर्जना गर्ने तयारी भइरहेको संघले जनाएको छ।







