

तुलसीपुर, दाङ- राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएर सञ्चालनमा आउन नसक्दा सेवाग्राही मारमा परेका छन्। अस्पतालमा अत्यावश्यक स्वास्थ्य सेवाका रूपमा रहेको सिटीस्क्यान परीक्षण ठप्प भएपछि बिरामीहरू निजी अस्पताल धाउन बाध्य भएका छन्।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले सिटीस्क्यान मेसिन मर्मत हुनै नसक्ने अवस्थामा पुगेको जानकारी दिए। “प्राविधिकहरूले उक्त मेसिन मर्मत गर्न नसकिने निष्कर्ष दिएका छन्,” उनले भने।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले विसं २०७७ मा करिब तीन करोड रुपैयाँको लागतमा उक्त मेसिन अस्पताललाई उपलब्ध गराएको थियो। त्यहीबेला अस्पतालमा सिटीस्क्यान सेवा सुरु गरिएको थियो। तर, चार वर्ष नपुग्दै मेसिन पूर्ण रूपमा बिग्रिएपछि सेवा रोकिएको हो।
सिटीस्क्यान मेसिन नचल्दा बिरामीहरू महँगो शुल्क तिरेर निजी क्लिनिक जान बाध्य छन्। अस्पतालमा आउने दैनिक दर्जनौं बिरामी सिटीस्क्यान परीक्षणका लागि पठाइएका भए पनि सेवाको अभावमा प्रभाव परिरहेको छ।


