

काठमाडौं- नेपालमा स्नायु विज्ञानको प्रवर्धन, विकास र नवीन अभ्यासबारे अन्तर्राष्ट्रियस्तरमा छलफल गर्न उपेन्द्र देवकोटा फाउन्डेसनले आगामी असार ४ र ५ गते काठमाडौंमा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ।
‘स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन’ नारासहित आयोजना हुने यो सम्मेलन प्रा. डा. उपेन्द्र देवकोटाको सातौं पुण्यतिथिको अवसरमा हुन लागेको हो। सोमबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डा. मधु दीक्षित देवकोटाले न्युरो सर्जरीदेखि पुनःस्थापनासम्मका प्रमुख शाखाहरू एउटै मञ्चमा ल्याउने उद्देश्य रहेको जानकारी दिइन्।
फाउन्डेसनका सीईओ मिलन गुरुङका अनुसार सम्मेलनमा स्ट्रोक, पार्किन्सन, छारे रोग, अल्जाइमरलगायत स्नायु रोगको समयमै पहिचान र नवीनतम प्रविधियुक्त उपचार प्रणालीबारे गहन छलफल हुनेछ।
सम्मेलनमा अमेरिका, बेलायत, भारत, फ्रान्स, इजिप्ट, पाकिस्तान लगायतका देशका विशेषज्ञहरूले सहभागिता जनाउने छन्। हावर्ड विश्वविद्यालयअन्तर्गतको बोस्टन चिल्ड्रेन अस्पताल, लन्डनको किङ्स कलेज, भारतको एआईआईएमएस र सीएमसी भेलोरबाट आएका विशेषज्ञहरू सहित २५ वटा सत्रमा १३५ कार्यपत्र प्रस्तुत हुनेछन्।
सम्मेलनअघिका असार २ र ३ गते ‘प्री-कन्फरेन्स’ अन्तर्गत विभिन्न व्यावहारिक कार्यशालाहरू अस्पताल परिसरमै सञ्चालन हुनेछन्। मानव शवको प्रयोगमार्फत स्नायु शल्यक्रियाको अभ्यास, न्युरो–इन्डोभास्कुलर तालिम, बोटुलिनम टक्सिनको प्रयोग तथा फङ्कसनल न्युरोसर्जरीबारे समेत प्रशिक्षण हुनेछ।
३१ जना विदेशी तथा स्वदेशी विज्ञहरूले प्रशिक्षण दिनेछन् भने ६०–७० प्रशिक्षार्थी सहभागी हुनेछन्। त्यस्तै, नर्सहरूका लागि ‘एड्भान्स कार्डियाक लाइफ सपोर्ट’ तालिम पनि सञ्चालन गरिनेछ।
साइन्स चियर डा. सुरेश विश्वकर्माले सम्मेलनलाई विगत ३७ वर्षमा न्युरो विज्ञानमा नेपालले गरेको प्रगतिको अन्तर्राष्ट्रिय उत्सवका रूपमा लिएको बताए। फाउन्डेसनले यो सम्मेलनमार्फत डा. देवकोटाको योगदानको सम्मान गर्दै नेपाललाई न्युरो सेवामा आत्मनिर्भर बनाउने दिशामा अघि बढाउने विश्वास लिएको जनाएको छ।
सम्मेलनमा स्वास्थ्य नीति निर्माणमा सरकार तथा सरोकारवालाको भूमिकाबारे समेत विस्तृत छलफल हुनेछ।


