

काठमाडौं – आत्महत्या प्रयासको संकेत दिँदै सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्। मंगलबार बिहान भैंसेपाटीस्थित मन्त्री निवासमा पुगेका श्रेष्ठले गृहमन्त्रीसँग आफूले रामेछापमा भोगेको पीडा र अन्यायबारे विस्तृत रूपमा बताएका हुन्।
श्रेष्ठले गृहमन्त्रीसमक्ष रामेछाप अस्पतालमा कार्यरत रहँदा आफूले प्रशासनिक अन्याय, मानसिक दबाब, झुटा आरोप र धम्की सहनु परेको गुनासो गरेका छन्। उनले आफूविरुद्ध योजनाबद्ध रूपमा केही कर्मचारीले मानसिक यातना दिने कार्य गरेको समेत बताए।
गृहमन्त्री लेखकले सोमबार श्रेष्ठको “अलबिदा” शीर्षकको फेसबुक स्टाटस पढेपछि आफू स्तब्ध र चिन्तित भएको जनाएका थिए। मंगलबारको भेटमा उनले कठिन परिस्थितिमा पनि आत्मबल गुमाउन नहुने भन्दै डा. श्रेष्ठलाई हिम्मतका साथ अगाडि बढ्न सुझाव दिए।
श्रेष्ठ सोमबार बिहान फेसबुकमा ‘अलबिदा’ लेखेपछि सम्पर्कविहीन भएका थिए। त्यसपछि प्रहरीले बालाजु क्षेत्रबाट उनलाई सकुशल उद्धार गरेको थियो।
श्रेष्ठ दुई वर्षभन्दा बढी रामेछाप जिल्ला अस्पतालमा कार्यरत थिए। जेठको अन्तिम साता उनको सरुवा हेटौँडामा भएको थियो। सामाजिक सञ्जालमा उनले अस्पतालमा अमानवीय व्यवहार सहनु परेको र परिवारसहित राति ९ बजे काठमाडौं आउन बाध्य बनाइएको गुनासो गरेका थिए।
उनले स्वास्थ्य मन्त्रालय र स्थानीय प्रशासनले आफूलाई न सुरक्षा दिएको न त न्याय सुनुवाइ गरेको भन्दै गृहमन्त्रीसमक्ष पनि असन्तुष्टि व्यक्त गरेका छन्।


