

धनगढी- सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक नि:सन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको छ ।
प्रादेशिक अस्पतालले स्थापना गरेकाे नि:सन्तान उपचार केन्द्रकाे अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले शुक्रबार उद्घाटन गरेका छन् ।
केन्द्रकाे उद्घाटन गर्दै मेसु पाण्डेले संघीय र प्रदेश सरकारकाे सहयोगमा स्थापना गरिएको बताए । उनले गत वर्ष नै नि:सन्तान उपचार केन्द्र सञ्चालन गर्ने तयारी भएपनि केही प्राविधिक समस्याले हुन नसकेकाे बताए ।
सुदूरपश्चिम प्रदेशमा सेवाकाे अभावका कारण नि:सन्तान दम्पतीहरू उपचारका लागि काठमाडौं तथा भारत जाने गरेकाेमा अब उक्त बाध्यता अन्त्य भएको बताउँदै सहज र सुलम रूपमा धनगढीमै सेवा लिन सकिने बताए ।
प्रादेशिक अस्पतालकाे स्त्री तथा प्रसुती राेग विभाग प्रमुख डाक्टर विशेषज्ञ डाक्टर खगेन्द्र भट्टले नि:सन्तानपन सम्बन्धि समस्याका विभिन्न किसिमका उपचार पद्धति रहेकाे बताउँदै अहिले आधारभूत तहकाे आईयुआई सेवा सुचारू गरिएको बताए ।
नि:सन्तान सम्बन्धि कुनै पनि सेवा उपलब्ध नभएको अवस्थामा सञ्चालन गरिएको आईयुआईबाट नि:सन्तापन भएका दम्पतीले लाभ लिन सक्ने उनी बताउँछन् ।
उक्त सेवा अन्तरगत पुरूष र महिलाकाे समान्य स्तरकाे प्रजनन सम्बन्धि परीक्षण र परामर्श, पुरूषकाे विर्य विश्लेषण तथा तयारी, सस्ताे, सुलभ, सहज र गाेपनिय रूपमा सेवा प्राप्त गर्न सक्ने बताए ।
भट्टले याे सेवाकाे सुरूवात सुदूरपश्चिमकै महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै भविष्यमा थप सेवा विस्तार गर्न सकिने बताए । उनकाअनुसार प्रादेशिक अस्पतालले नि:सन्तापन भएका दम्पतीलाई साढे ७ हजारकाे प्याकेजमा उपचार पाउनेछन् ।
विश्वव्यापी रूपमा १० देखि १५ प्रतिशतमा दम्पतीहरू बाँझाेपनकाे समस्याबाट प्रभावित रहेकोमा नेपालमा १३ देखि १५ प्रतिशत दम्पती याे समस्याबाट प्रभावित हुने अनुमान गरिएको छ ।
बाँझाेपनकाे समस्या महिला र पुरूष दुवैमा हुने चिकित्सक बताउँछन् ।


