काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले नेपाल प्रहरी अस्पताललाई विगतका कमजोरी सुधार्दै नागरिकमैत्री, गुणस्तरीय र सहज सेवा दिन निर्देशन दिएका छन्।
बुधबार महाराजगन्जस्थित अस्पतालको आकस्मिक कक्ष, वार्ड, फार्मेसी र शैक्षिक कार्यक्रमको निरीक्षणपश्चात आयोजित कार्यक्रममा उनले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई उच्च मनोबलका साथ सामूहिक भावनामा काम गर्न आग्रह गरे।
“उचित परामर्श, असल व्यवहार र सहानुभूतिपूर्ण उपचारमार्फत सबैको सहज पहुँच सुनिश्चित गर्नु अस्पतालको दायित्व हो,” उनले भने।

थापाले अस्पतालले कोभिड-१९ महामारीका बेला खेलेको भूमिकाको प्रशंसा गर्दै प्रहरी कर्मचारी, उनीहरूका परिवार, अवकाशप्राप्त प्रहरी तथा सर्वसाधारणलाई लक्षित सेवा अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
अस्पतालको भौतिक र प्राविधिक स्तरोन्नति तथा स्वास्थ्यकर्मीको दक्षता विकासमा प्रहरी संगठन सकारात्मक रहेको उल्लेख गर्दै उनले अन्य संस्थासँग सहकार्य गर्दै मनसुनजन्य विपद् र प्रकोप व्यवस्थापनमा तयारी अवस्थामा रहन निर्देशन दिए।








