

काठमाडौं – औषधि व्यवस्था विभागले धनुषास्थित लोमस प्यारेन्ट्रेल्स एण्ड फर्मुलेसन प्रालिद्वारा उत्पादन गरिएका दुई ब्याच औषधिहरूमा न्यून गुणस्तर भेटिएपछि ती औषधिको बिक्री–वितरणमा रोक लगाउँदै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा कम्पनीद्वारा उत्पादित ‘कम्पाउण्ड सोडियम ल्याक्टेट’ र ‘डेक्सट्रोज’ नामका औषधि तोकिएको मापदण्डमा खरो नउत्रिएको पुष्टि भएपछि विभागले सार्वजनिक स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय लिएको हो।
सूचना अनुसार, सन् २०२३ अक्टोबरमा उत्पादन गरिएको कम्पाउण्ड सोडियम ल्याक्टेट र २०२४ नोभेम्बरमा उत्पादन गरिएको डेक्सट्रोज परीक्षणमा असफल ठहरिएका छन्। यी औषधिहरू बजारमा पुगिसकेकोले तुरुन्त फिर्ता गर्न निर्देशन दिइएको छ।
औषधि ऐन, २०३५ को दफा १४ अनुसार विभागले ती औषधिको बिक्री, वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको छ। विभागले सोमबार जारी गरेको सूचनामा सम्बन्धित उद्योग तथा प्रतिनिधिहरूलाई ती औषधि बजारबाट संकलन गरी विवरणसहित विभागमा पेस गर्न आग्रह गरिएको छ।
विभागका महानिर्देशक नारायण ढकालका अनुसार त्रुटिको कारणबारे अनुसन्धान सुरु भइसकेको छ। “यो कमजोरी उत्पादन प्रक्रियामा भएको हो कि भण्डारणमा, त्यसको खोजी भइरहेको छ,” उनले बताए।
उनले यस्ता त्रुटिपूर्ण औषधिको प्रयोगबाट कसैको स्वास्थ्यमा गम्भीर असर परेमा वा मृत्यु भएमा औषधि ऐनअनुसार कम्पनीलाई जरिवाना मात्र नभई कैद सजाय समेत हुन सक्ने बताएका छन्।



