धादिङ – धादिङ अस्पतालमा केही समयअघि सुरु गरिएको इन्डोस्कोपी सेवा दक्ष प्राविधिकको अभावका कारण ठप्प भएको छ। पेटसम्बन्धी विभिन्न रोग पहिचान गर्न अत्यावश्यक मानिने यो सेवा एक दिनमात्रै सञ्चालनमा आएर बन्द भएको हो।
सेवा ठप्प हुँदा अहिले बिरामीहरू उपचारका लागि राजधानी काठमाडौँ वा अन्य स्थान जान बाध्य छन्। सामान्यतः अस्पतालका सर्जनहरूले इन्डोस्कोपी सेवा सञ्चालन गर्दै आएका थिए, तर अहिले कार्यरत सर्जनहरूले सेवा नदिँदा बिरामी मर्कामा परेका छन्।

धादिङ अस्पतालमा डा. गगन अधिकारी र डा. नवीन महासेट सर्जनको रूपमा कार्यरत छन्। तर डा. महासेट सप्ताहमा पाँच दिन काठमाडौँ बस्ने र दुई दिनमात्र अस्पतालमा उपस्थित हुने गरेका छन्। स्रोतका अनुसार उनले हाजिर भने छ दिनको गरिरहेको पाइन्छ। अस्पताल प्रशासनले उनलाई नियमविपरीत अध्ययन बिदा दिएको खुलासा भएको छ।
यसैबीच, निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारी सेवा सुदृढीकरणमा भन्दा पनि राजनीतिक भेटघाटमा व्यस्त हुने गरेको आरोप छ। केही दिनअघि उनले आफ्नै कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा विवादमा मुछिएका थिए।

स्वास्थ्य सेवा प्रभावित हुँदा सर्वसाधारण मारमा परेका छन्। स्थानीयबासीले कर्मचारी विवाद मिलाएर सेवा चुस्त बनाउन माग गरिरहेका छन्। तर अस्पताल प्रशासन सुधारमा चासो नदेखाएको गुनासो छ।
त्यस्तै, अस्पतालका केही प्राविधिकहरू कार्यालय समयमा निजी क्लिनिक र अस्पतालमा काम गर्न जाने गरेको पाइए पनि व्यवस्थापन मौन छ। यसले गर्दा सरकारी अस्पतालबाट सेवा लिन आएका बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पताल धाउन बाध्य छन्।
स्थानीय प्रशासनसमेत बेथितिबारे जानकार भए पनि प्रभावकारी कदम नचालिएको स्थानीयहरू बताउँछन्।







