नुवाकोट- नुवाकोटको किस्पाङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण उनीहरूको घरमै पुगेर गरेको छ । स्वास्थ्य संस्थासम्म जान नसक्ने अवस्था भएका अशक्त व्यक्तिहरूको सहजताका लागि गाउँपालिकाले यस्तो पहल गरेको हो ।
गाउँपालिकाको समन्वयमा त्रिशूली अस्पतालमा कार्यरत डा. कैलाश विश्वकर्माको नेतृत्वमा चिकित्सक टोलीले पहिलो चरणमा १२ जना अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य जाँच गरेको किस्पाङ गाउँपालिका कार्यालय, काहुलेले जानकारी दिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपानेका अनुसार केही अपाङ्गता भएकाको भने घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो ।
यस अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर शाहीले बताए । उहाँका अनुसार यस कार्यक्रमबाट दैनिक जीवनमा कठिनाइ भोगिरहेका अपाङ्गता भएका व्यक्तिहरूले प्रत्यक्ष लाभ लिएका छन् ।








