काठमाडौं – नेपालमा क्यान्सर उपचारको अग्रणी संस्था नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो ८औं वार्षिकोत्सव मंगलबार विविध कार्यक्रमका साथ मनाएको छ। “नेपालीको क्यान्सरको उपचार नेपालमै” भन्ने मूल नाराका साथ स्थापना भएको अस्पतालले क्यान्सर उपचारमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

वार्षिकोत्सव समारोहमा बोल्दै अस्पतालका मेडिकल निर्देशक डा. विजेशराज घिमिरेले हाल अस्पतालले अब्बल सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा ती सेवाहरूलाई अझ गुणस्तरीय र व्यापक बनाउने प्रतिबद्धता जनाए। उनले भने, “हामी नेपाली बिरामीले विदेश जान नपर्ने वातावरण बनाउन सफल भएका छौं। अब सेवाको गुणस्तर थप उचाइमा लैजाने हाम्रो लक्ष्य हो।”


त्यस्तै, अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठले अस्पतालको स्थापना र सफलताका लागि साथ दिने सम्पूर्ण व्यक्तिहरूप्रति आभार प्रकट गरे। उनले भने, “यो अस्पताल सजिलै स्थापना भएको होइन। यसमा धेरै व्यक्तिको लगानी, परिश्रम र समर्पण छ। हामीले नेपालमै नमुना क्यान्सर अस्पतालको रूपमा स्थापना गरेका छौं र धेरै सफलता पाएका छौं।”
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले विगत ८ वर्षदेखि आधुनिक प्रविधियुक्त सेवा, दक्ष चिकित्सक र समर्पित टिमको सहायतामा हजारौं क्यान्सर पीडितको उपचार गर्दै आएको छ। वार्षिकोत्सव कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी, सेवाग्राही तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।







