अछाम – सुदूरपश्चिम प्रदेश सरकारले अछामस्थित बयालपाटा अस्पताललाई ५० शय्याको प्रदेशस्तरीय अस्पतालको रूपमा सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक नीति तथा कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँले अस्पतालको स्वामित्व प्रदेश सरकारले ग्रहण गरी सञ्चालन गर्ने घोषणा गरेका हुन्।
विगत १६ वर्षदेखि न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालको व्यवस्थापन गर्दै आइरहेको थियो। तर हालै न्याय हेल्थ नेपालले अस्पतालको भविष्य व्यवस्थापनका लागि दुई विकल्पसहित प्रदेश सरकारलाई पत्र पठाएको थियो। प्रदेश सरकारले दोस्रो विकल्प हालकै एकीकृत स्वास्थ्य सेवा प्रणाली अनुसार अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो।
त्यसपछि मुख्यमन्त्री स्तरीय बैठकबाट सामाजिक विकास मन्त्री मेघराज खड्काको संयोजकत्वमा निर्देशक समिति र डा. चेतराज पन्तको संयोजकत्वमा कार्यकारी समिति गठन गरिएको थियो। समितिले अस्पतालको स्थलगत अनुगमनपछि हालकै मोडेलमै सञ्चालन गर्नु उपयुक्त हुने सुझाव दिएको थियो।

यसै सुझावका आधारमा सामाजिक विकास मन्त्रालयले बयालपाटा अस्पतालको स्वामित्व ग्रहण गर्ने प्रस्ताव तयार गरी मन्त्रीपरिषद्मा पेश गरेको थियो। प्रस्ताव स्वीकृत भएसँगै अब पहिलो चरणमा न्याय हेल्थ नेपालसँग अस्पताल हस्तान्तरणको सम्झौता गरिने र दोस्रो चरणमा सरकारी दरबन्दी अनुसार कर्मचारी व्यवस्थापनलगायतका काम अघि बढाइने मन्त्री खड्काले जानकारी दिए।
प्रदेश सरकारले भविष्यमा पनि अस्पताललाई न्याय हेल्थ नेपालसँगको सहकार्यमा सञ्चालन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने जनाएको छ। स्थापना कालदेखि नै निःशुल्क सेवा दिँदै आएको बयालपाटा अस्पताललाई अब पूर्ण रूपमा प्रदेश सरकारले सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।








