अछाम- बान्नीगढी जयगढ गाउँपालिका–५, कालिका बाच्कोट। हरियालीले ढाकिएको, शान्त र आपसी मेलमिलापमा बस्ने यो गाउँले सोमबार एउटा ऐतिहासिक क्षण अनुभव गर्यो। गाउँलेहरूका लागि ‘डाक्टर बाजे’ बनेका डम्बरे साउँद अनिवार्य अवकाशमा जाँदै थिए, तर उनका ४० वर्षे सेवा र समर्पणको कदरमा गाउँलेहरूले उनलाई नायकसरह बिदाइ गरे।
साउँदको औपचारिक पद कार्यालय सहयोगी भए पनि उनको काम केवल फाइल मिलाउने वा चौकी सफा गर्ने मात्र थिएन। २०४२ सालको भदौ २९ गते देखि कालिका स्वास्थ्य चौकीमा नियुक्त साउँदले औषधि ल्याउने, बिरामीलाई सघाउने, सल्लाह दिने, यहाँसम्म कि डाक्टर नभएको बेलामा सहारा दिने जिम्मेवारीसमेत सम्हाले।
रातको अँध्यारोमा टर्चलाइट बोकेर बिरामीको घर पुग्नु, अति आवश्यक औषधि दिनु र बिरामीको हिम्मत बढाउनु साउँदको दैनिकी थियो। स्वास्थ्यकर्मी नभए पनि गाउँलेका लागि उनी नै ‘डाक्टर’ थिए। त्यसैले गाउँलेहरूले उनलाई स्नेहपूर्वक ‘डाक्टर बाजे’ भनेर बोलाउने गर्थे।
अवकाशको दिनमा, कालिकाबासीले उनलाई बाजागाजा, माला, अविर र खादा लगाएर बिदाइ गरे। घोडामा चढाएर सम्मानपूर्वक घर पुर्याइयो। युवादेखि वृद्धसम्मको सहभागिताले यो बिदाइलाई उत्सवसरह बनायो।

बिदाइ कार्यक्रममा वडाध्यक्ष टंक साउँद ले भने, “डम्बरे साउँदज्यू हाम्रो वडा र स्वास्थ्य क्षेत्रका लागि अमूल्य सम्पत्ति हो। उहाँले सानो पदमा बसेर पनि असाधारण सेवा गर्नुभयो। उहाँ हाम्रो प्रेरणा हुनुहुन्छ।”
अन्य स्थानीय जनप्रतिनिधि, राजनीतिज्ञ र स्वास्थ्यकर्मीहरूले पनि साउँदको योगदानको खुलेर प्रशंसा गरे। उनका सेवाले गाउँमा स्वास्थ्यप्रति चेतना बढाएको र सामुदायिक सहयोगको संस्कार जोगाइराखेको बताएका छन्।
अब डम्बरे साउँद दैनिक स्वास्थ्य चौकीमा देखिँदैनन्, तर गाउँको हरेक घरमा, र हरेक संकटको समयमा, ‘डाक्टर बाजे’को सम्झना सदैव रहनेछ। उनको बिदाइले फेरि एकपटक प्रमाणित गर्यो पद होइन, समर्पण ठूलो हुन्छ।








